• Menu

पोखराका शहिद चोक र ग्रैहापाटन क्षेत्रमा लगाएको निषेधाज्ञा तोडेर प्रदर्शन

नेपाल प्रफिट

२०८१ कात्तिक ४, १३:१३

पोखराका शहिद चोक र ग्रैहापाटन क्षेत्रमा लगाएको निषेधाज्ञा तोडेर प्रदर्शन

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा लगाएको निषेधाज्ञा प्रदर्शनकारीले तोडेका छन् ।

सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । तर, प्रदर्शनकारीले निषेधाज्ञा तोडेका हुन् ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेद्वारा जारी निषेधाज्ञासम्बन्धी सूचनामा सहिदचोकको पूर्वपट्टि वाइचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोकस र ग्रैहापाटनको पालिखेचोकबाट नविन माध्यमिक विद्यालयसम्मको सडक क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभालगायत विरोधका कार्यक्रम गर्न निषेध गरिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको छ । उनलाई आजै अदालतसामु उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोप छ । तर, सहकारीको रकम अपचलनका विषयमा अध्ययन गर्न गठित संसदीय समितिले भने सहकारीको रकम ल्याउनमा लामिछानेको संलग्नता देखिने कुनै कागजात या प्रमाण फेला नपरेको प्रतिवेदन सरकारलाई बुझाएको छ ।