काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पक्राउ गरेको घटनालाई ‘नयाँ पुस्ताको राजनीतिक अभ्यास’लाई सिध्याउन चालिएको प्रपञ्चका रुपमा लिएको प्रतिक्रिया दिएको छ ।
पार्टी सभापति पक्राउ परेपछि कार्यवाहक प्रवक्ता मनिष झाले पार्टी सभापति पक्राउ परेको घटनालाई जोडेर जनतालाई अप्ठ्यारो पर्ने तथा अर्थतन्त्रलाई हानी नोक्सानी पुग्ने खालका कुनै गतिविधि नगर्ने स्पष्ट पारे ।
‘प्रहरी, अदालत र कानुनप्रति हाम्रो कुनै द्वेष छैन, सहज रुपमा प्रक्रिया स्वीकार गरेका छौँ, न्यायिक प्रक्रियालाई सघाउँछौँ, यस घटनालाई भद्र रुपमा राजनीतिक परितर्वनको लडाइँ सुरुवातका रुपमा लिएका छौँ,’ उनले भने ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोप छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
तर, सहकारीको रकम अपचलनका विषयमा अध्ययन गर्न गठित संसदीय समितिले भने सहकारीको रकम ल्याउनमा लामिछानेको संलग्नता देखिने कुनै कागजात या प्रमाण फेला नपरेको प्रतिवेदन सरकारलाई बुझाएको छ ।