• Menu

जनकपुरधाममा चार सय ४५ व्यवसायीलाई नापतौल इजाजत, ४० लाख ६७ हजार राजस्व संकलन

नेपाल प्रफिट

२०८१ कात्तिक १, १६:४६

जनकपुरधाममा चार सय ४५ व्यवसायीलाई नापतौल इजाजत, ४० लाख ६७ हजार राजस्व संकलन

धनुषा । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले गत आर्थिक वर्ष २०८०/८१मा ४ सय ४५ उद्योग तथा व्यवसायीलाई व्यवसाय कारोवार गर्न नयाँ नापतौल सम्बन्धी इजाजतपत्र प्रदान गरेको छ ।

सो कार्यालयले २ हजार ३ सय ६८ व्यवसायीको नापतौल यन्त्रको जाँचसमेत गरेको जनाएको छ । प्राप्त विवरणअनुसार तोकिएको मापदण्ड विपरीत ढक र तराजु प्रयोग गर्ने एक हजार ७ सय १७ व्यापारीलाई कारबाही गरी जरिवानासमेत गरिएको कार्यालय प्रमुख मुकुन्द चौहानले बताए ।

धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछापगरी कूल ५ जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले विभिन्न कारवाही, नापतौल यन्त्रको इजाजतपत्र प्रदान तथा नवीकरण बापत गत आर्थिक वर्षमा ४० लाख ६७ हजार २ सय ४२ राजस्व संकलन गरेको जनाएको छ ।