• Menu

बाढीपहिरोले ठूलो धनजनको क्षति, म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

नेपाल प्रफिट

२०८३ असोज १४, बुधबार ११:५३

बाढीपहिरोले ठूलो धनजनको क्षति, म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

म्याग्दी । बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । विपद् संकटग्रस्त जिल्ला घोषणा गरेर पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई प्राथमिकता दिन गृहमन्त्रालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरिपछिको बाढी र पहिरोले जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

विपद्मा परी सात जनाको ज्यान गएको छ । यस्तै, दुई जना बेपत्ता भएका छन् । सडक, विद्युत, सिँचाइ, खानेपानी, भवनलगायत भौतिक संरचनामा ठूलो क्षति पुगेकाले म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणाका लागि सिफारिस गरिएको उनले बताए ।

यसैगरी, म्याग्दीमा बाढी पहिरोले भौतिक संरचना, निजी आवास, कृषि, पशुपक्षी क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गर्न मंगलबारदेखि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीको टोली परिचालन भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले उद्धार र राहतसँगै ६ वटै पालिकामा क्षति विवरण संकलन कार्य सुरु भएको जानकारी दिए । उनका अनुसार हालसम्म प्राप्त विवरणअनुसार बाढी पहिरोले बेनी नगरपालिकामा २३, रघुगङ्गामा तीन, मङ्गलामा १८, मालिकामा एक, अन्नपूर्णमा दुई र धवलागिरिमा एक घर पूर्ण क्षति भएको विवरण प्राप्त भएको छ । बेनी नगरपालिकामा नौ र मालिका गाउँपालिकामा एक घरमा आंशिक क्षति पुगेको छ ।

बेनीमा २३, रघुगङ्गामा ४७, मङ्गलामा चार, मालिकामा तीन र धवलागिरिमा २३ घर जोखिममा परेका छन् । बेनीमा २१, रघुगङ्गामा २६, मङ्गलामा आठ, अन्नपूर्णमा एक वटा गोठ तथा जिल्लाभर २० वटा पशुधनको क्षति भएको विवरण संकलन भएको छ ।

पहिरोले गाउँ घेरिएपछि फसेका अन्नपूर्ण गाउँपालिका-५ पाउद्वार, गिवाङ, नेपाने, किन्दु, धोस्केखोर, घिरवाङका १०९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरेर शिख र घारमा अस्थायी शिविर बनाएर राखिएको छ ।

विपद्पछि उद्धार कार्यमा ७० नेपाली सेना, २५१ नेपाल प्रहरी र ६० जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन भएका छन् । बाढी र पहिरोका कारण म्याग्दीको सदरमुकाम बेनीदेखि अन्य जिल्ला र ग्रामीण क्षेत्र जोड्ने सबै सडक अवरुद्ध छन् । सदरमुकाम बाहेकका क्षेत्रमा विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम बेनीमा खानेपानीको हाहाकार भएको छ ।

सम्बन्धित समाचार