• Menu

मनाङमा बाढी र हिमपातको विपद् : मर्स्याङ्दी नदी थुनिएपछि अन्नपूर्ण पदमार्गका पर्यटक रोकिए

नेपाल प्रफिट

२०८३ असोज १४, बुधबार ११:२९

मनाङमा बाढी र हिमपातको विपद् : मर्स्याङ्दी नदी थुनिएपछि अन्नपूर्ण पदमार्गका पर्यटक रोकिए

मनाङ । अन्नपूर्ण चक्रीय मार्गमा पर्यटक आउने याम सुरु भइसकेको छ । आइतबारदेखिको अविरल वर्षाले माथिल्लो मनाङमा हिमपात र तल्लो मनाङमा बाढीले मर्स्याङ्दी नदी थुनिएको छ । विपद्का पर्यटक मनाङमै बस्न बाध्य भएका छन् ।

मर्स्याङ्दी थुनिएपछि माथिल्लो मनाङ पुगेका पर्यटक उतै छन् भने तल्लो मनाङमा रहेका पर्यटक रोकिएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) एकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ्ला पास गर्ने पर्यटक पनि मनाङ नै फर्किएका छन् ।

‘माथिल्लो मनाङ आइपुगेका २२६ विदेशी पर्यटकको दर्ता भएको छ भने ४४ जना फर्किएका छन्,’ प्रमुख भुजेलले भने, ‘करिब १५० बढी पर्यटक थोराङ्ला पास गर्ने पर्यटक हिउँ बाक्लो भएपछि फर्किएर मनाङ आइपुगेका छन् । मनाङ गाउँमा पर्यटक सुरक्षित छन् ।’ थोराङ्ला पास गर्ने पर्यटक मुस्ताङबाट हेलिप्टरमा फर्कन सक्ने भएकाले जान अनुमति दिएको छ ।

‘बिरामी र प्रवेशाज्ञा सकिएका पर्यटक भने हेलिकप्टरमार्फत फर्किएका छन्,’ प्रमुख भुजेलले भने, ‘हिमपात भएको समयमा मनाङ गाउँमा पर्यटक खचाखच थिए । सञ्चार र विद्युत नहुँदा संख्या यकिन गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

एक्यापका पर्यटन शिक्षा सहायक भूपेन्द्र गुरुङले धारापानी चेकपोष्टमा सेप्टेम्बर २२ देखि २८ तारिखसम्म ५९० विदेशी पर्यटकको दर्ता भएको जानकारी दिए । उनका अनुसार अविरल वर्षा र बाढीपहिरोका कारण १४६ पर्यटक फर्किएका छन् । ‘माथिल्लो मनाङ पुगेका पर्यटक माथि नै छन् भने चामेदेखि तल रहेका भने यहीँ छन्,’ गुरुङले भने, ‘बाटोको ट्र्याक नै मर्स्याङ्दी नदीले कटान गरेपछि फर्कने अवस्था छैन । पर्यटक यही रहेका छन् ।’

अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीको कटानले अधिकांश स्थानमा सडकको ट्र्याक बगाएको छ । भासिएका सडकको नयाँ ट्र्याक नबनाउँदासम्म पर्यटक तथा स्थानीयवासी आवतजावत गर्न सक्ने अवस्था छैन । नदी कटानले सडक भासिँदा उपकरण पुर्‍याउन सकिएको छैन ।

सम्बन्धित समाचार