महोत्तरी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध रहेको बताएका छन् ।
महोत्तरीको बर्दिवास-५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरको अवलोकन र पूजाअर्चना गर्दै मन्त्री पौडेलले टुटेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सरकार मुलुकका धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको संरक्षण र समयोचित विकासका कुरामा प्रतिबद्ध रहेको स्पष्ट पारे ।
समितिका अध्यक्ष राजाराम यादवबाट ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री पौडेलले भने, ‘सरकार यो धार्मिकस्थलको सम्वद्र्धन र पर्यटकीय सम्भावना विकासबारे स्थानीय समुदायसँग समन्वय गर्दै अघि बढ्न प्रतिबद्ध छ ।’ मधेसको कैलाश पनि भनिने टुटेश्वरनाथ महादेवबारे अतिप्राचीन किंवदन्ती स्थानीयबाट सुनेको उनले बताए ।
यसअघि मन्दिर परिसरमा मन्त्री पौडेलको स्वागत गर्दै समितिका अध्यक्ष यादवले टुटेश्वरधामको रामायण तथा महाभारतकालीन किंवदन्तीबारे अध्ययन अन्वेषण गर्न अनुरोध गर्दै उनलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । समितिले बर्सेनि साउने बोलबम मेलामा लाखौँ श्रद्धालुको सहभागिता हुने यस ठाउँमा पुग्न बाटोमा विश्राम चौतारी, खानेपानी, बिजुली र शौचालयको प्रबन्धका लागि ध्यानाकर्षणपत्रमार्फत् अनुरोध गरेको छ ।
सो स्थान नजिकको वन संरक्षण, माण्डवीगङ्गा नदीमा घाट र तटबन्ध एवं धर्मशाला निर्माण एवं मन्दिरको दीर्घकालीन संरक्षण तथा सम्वद्र्धनका उपायबारे विस्तृत परियोजना प्रस्ताव तयार गर्नसमेत समितिले ध्यानाकर्षण गराएको छ ।
मन्त्री पौडेलसँगै अवलोकन भ्रमणमा रास्वपा मधस प्रदेशका सभापति एवं प्रतिनिधिसभा सदस्य तपेश्वर यादव र महोत्तरी-१ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतो पनि सहभागी छन् ।
मन्त्री पौडेलद्वारा देवस्थलको अवलोकन र पूजाअर्चना
यसैबीच मन्त्री पौडेलले आज महोत्तरीका विभिन्न देवस्थलको अवलोकन तथा पूजाअर्चना गरेका छन् । उनले बर्दिबास-५ टुटेश्वरस्थित टुटेश्वरनाथ महादेव मन्दिर र बर्दिवास-४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिरको अवलोकन तथा पूजाअर्चना गरेका हुन् ।
चुरे पहाडी शृङ्खला नजिकका दुवै धार्मिकस्थल अत्यन्त रमणीय ठाउँमा रहेका उनले बताए । मन्दिर क्षेत्रको अवलोकन र पूजाअर्चनापछि मन्त्री पौडेलले भने, ‘यी ठाउँ धार्मिक पर्यटनका दृष्टिले सम्भावनायुक्त छन् ।’