• Menu
s

अरनिको राजमार्ग स्तरोन्नतिमा ‘बिटुमिन’ अभाव, दुई महिनादेखि काम प्रभावित

नेपाल प्रफिट

२०८३ असार ४, ०८:५९

अरनिको राजमार्ग स्तरोन्नतिमा ‘बिटुमिन’ अभाव, दुई महिनादेखि काम प्रभावित

काभ्रे । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड पक्की कार्य दुई महिनादेखि बन्द छ । चैतमा करिब महिनाभर रातको समयमा आवागमन बन्द तथा दिउँसो एकतर्फ सञ्चालन गरेर कालोपत्र (डिबिएम–पिच)को काम गरिए पनि हाल ‘बिटुमिन’ अभावमा काम बन्द भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

धुलिखेल चोकबाट २.५ किलोमिटर सडक दुवैतर्फी पहिलो चरणमा पक्की बनाइएको उक्त सडकमा वैशाखदेखि सम्पूर्ण प्रकारका यातायातका साधनलाई दुईतर्फी खुला गरिएको थियो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले दुई महिनादेखि ‘बिटुमिन’ अभावका कारण बाँकी पक्की बनाउने काम तथा पहिलो चरणमा डिबिएम–कालोपत्रे गरिए पनि ‘आस्फाल’ थप्ने कार्य बाँकी रहेको बताए ।

उनका अनुसार स्तरोन्नति भइरहेको चार किमीमध्ये बाँकी दूरी (दुवैतर्फीसम्मको) पक्की गर्ने कार्य वैशाख पहिलो सातादेखि थालिने योजना बनाइए पनि कच्चा पदार्थको अभावमा दुई महिनादेखि काम रोकिएको छ ।

हाल यात्रालाई सहजता दिन पक्की गर्न बाँकी दूरीमा खाल्डाखुल्डी पुर्ने काम भइरहेको योगेशले बताए । उक्त खडकखण्डको बाँकी १.५ किमी बिटुमिन आयात भएपछि दोस्रो चरणमा पक्की बनाइनेछ ।

ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र अस्फाल कालोपत्र गर्ने काम हुने उनले जनाए । लामो समयसम्म निर्माण व्यवसायीको लापर्वाहीका कारण रोकिएको विस्तार कार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता कार्य गरिएपछि पुनःस्तरोन्नति कार्यलाई तीव्रता दिइएको थियो ।

कार्यालयका अनुसार आउँदो पुसमा काम सम्पन्न गर्नेगरी सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो । उक्त सडकखण्डमा कालोपत्रेको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिने योगेशले बताए । उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो ।

सम्झौताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशत निर्माणको काम नसकेको अवस्थामा कार्यालयले २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको उक्त निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो । उक्त निर्माण कम्पनीले २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ भित्र बनाइसक्ने गरी ठेक्का लिएको थियो ।

उक्त सडकखण्ड अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायतका जिल्लातर्फ जाने मुख्य सडक हो ।