• Menu

आइएमई समूहको लगानी रहेको ६६.३ मेगावाटको मध्य कालीगण्डकी आयोजना निर्माण सुरु, लागत १२ अर्ब ९३ करोड

नेपाल प्रफिट

२०८१ फागुन २२, ११:५३

आइएमई समूहको लगानी रहेको ६६.३ मेगावाटको मध्य कालीगण्डकी आयोजना निर्माण सुरु, लागत १२ अर्ब ९३ करोड
तस्बिर एआई

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । आइएमई समूहको लागनीमा हाइड्रो सपोर्ट प्रालि प्रवर्धक रहेको आयोजना निर्माणस्थलमा परिचालित भएको सिभिल ठेकेदार रुसुवा मल्टी जेभीले प्रारम्भिक चरणको पूर्वाधार निर्माणको काम थालेको हो ।

ठेकेदार कम्पनीका इन्जिनियर विद्युतजंग रावतले बाँधदेखि सुरुङ निर्माणस्थलसम्म पुग्ने दुई सय मिटर लामो एप्रोच कल्भर्टबाट आयोजनाको भौतिक संरचना निर्माणको काम थालिएको जानकारी दिए । आयोजनाका अनुसार अन्नपूर्ण चार किलोमिटर आठ सय मिटर लामो सुरुङबाट ल्याउने पानी अन्नपूर्ण-२ नौनीबगरमा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

सुकेबगरको इनलेट, नारच्याङ पुलनजिकैको अडिट र नौलीबगरको आउटलेटबाट सुरुङ निर्माण गरिनेछ । विद्युतगृहदेखि आउटलेटको हेड एक सय पाँच मिटर अग्लो छ । रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युतगृह, स्विचार्ड, कन्ट्रोल रुम भूमिगत बनाइने भएको छ ।

मध्य कालीगण्डकीको विद्युत् नौलीबगरभन्दा ६ किलोमिटर माथि दानामा रहेको २२० केभी क्षमताको सबस्टेसनमार्फत केन्द्रीय प्रणालीमा जोडिनेछ । तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको लागत १२ अर्ब ९३ करोड अनुमान गरिएको छ ।