• Menu

दाङका ४,२०० घरधुरीमा विद्युत पुर्‍याउन २५ करोड बजेट सुनिश्चित

नेपाल प्रफिट

२०८१ फागुन २१, बुधबार १३:४१

दाङका ४,२०० घरधुरीमा विद्युत पुर्‍याउन २५ करोड बजेट सुनिश्चित

दाङ । दाङका विकट क्षेत्रका नागरिकलाई विद्युत् पुर्‍याउने गरी काम थालिएको छ । पश्चिम दाङको विकट क्षेत्र शान्तिनगर, बबई र दङ्गीशरण गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिकाकै केही भागमा अझै पनि विद्युत नपुगेको जनाउँदै ती स्थानमा विद्युत पुर्‍याउने गरी काम अगाडि बढाइएको नेपाल विद्युत वितरण केन्द्र तुलसीपुरका प्रमुख शिवनारायण गोशलीलले बताए ।

उनका अनुसार अझै पनि यी क्षेत्रका चार हजार दुई सय बढी घरधुरीमा विद्युत नपुगेकाले ती क्षेत्रमा विद्युत् पुर्‍याउनका लागि प्रक्रिया अघि बढेको हो । ‘म प्रमुख हुँदासम्म यहाँका विकट बस्तीका घरमा विद्युत पुर्‍याउने योजना छ, जिल्लाका विकट बस्तीमा अझै पनि विद्युत पुगेको छैन,’ उनले भने, ‘त्यसका लागि प्रक्रिया अघि बढिसकेको छ ।’ ती बस्तीमा विद्युत पुर्‍याउनका लागि करिब २५ करोड बजेट सुनिश्चित भइसकेको समेत बताए ।

त्यो बजेट कार्यान्वयन भएमा सबै ठाउँमा विद्युत पुग्ने उनको भनाइ छ । चीनको एआइआइबी बैंकको लगानीमा विद्युत विस्तार हुन लागेको हो । ‘दाङजस्तो विकसित जिल्लामा समेत अझै पनि विद्युत नपुगेको ठाउँ छ, भन्दा अच्चमा लाग्ने गर्छ,’ प्रमुख गोशलीले भने, ‘अब सबै ठाउँ विद्युत् पुग्यो, भन्ने बनाउनुछ ।’

दङ्गीशरण गाउँपालिकाको वडा नं १, शान्तिनगर गाउँपालिकाको वडा नं १, २ र ३, बबई गाउँपालिकाको वडा नं १, ५ र ७ तथा तुलसीपुर उपमहानगरपालिकाको १, ३, ४, ८ र १२ नम्बर वडाका केही बस्तीमा अझै पनि विद्युत पुग्न सकेको छैन । केही समय अघि दाङको तुलसीपुर–४ खुमखानी, शान्तिनगर गाउँपालिका–१ बस्तीखोला, हारीचारजस्ता विकट ठाउँमा विद्युत पुर्‍याइएको थियो ।