• Menu

थामडाँडामा श्रमदानबाट सिँचाइ पाइपलाइन मर्मत, ३५ घरधुरीलाई राहत

नेपाल प्रफिट

२०८१ फागुन २१, बुधबार १२:१२

थामडाँडामा श्रमदानबाट सिँचाइ पाइपलाइन मर्मत, ३५ घरधुरीलाई राहत

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजना मर्मत गरेका छन् । चार वर्षअघि निर्माण भएको बालमखोला सिँचाइ आयोजनाअन्तर्गत थामडाँडा र बदमखोरीया क्षेत्रको सिँचाइ पाइपलाइनमा समस्या देखिएपछि उपभोक्ताहरुले आठ दिनसम्म श्रमदान गरी मर्मत गरेका हुन् ।

गाउँनजिक रहेको, रिजर्भ ट्यांकीदेखि करिब पाँच सय मिटर दुरीको पाइपलाइनलाई परिवर्तन गरेर नयाँ पाइपलाइन विस्तार गरिएको बालमखोला सिँचाइ आयोजना उपभोक्ता मूल समितिका सचिव धनकाजी सुनारले जानकारी दिए ।

उनका अनुसार, ३५ घरधुरीबाट एक-एक जनाले श्रमदान गरेका थिए । यसअघि दुई इञ्चको पाइप राखिएकोमा समस्या भएपछि पाइपलाइनको नयाँ मार्ग बनाएर रिजर्भ ट्यांकीको आउटलेटबाट डेढ इञ्चको पाइप थपगरिएको समितिले जनाएको छ ।

श्रमदानबाट पाइपलाइन मर्मत गरेपछि ३५ घरधुरीको १९० रोपनी खेतीयोग्य जमिनमा सिँचाइको सुविधा पुगेको समितिका सचिब सुनारले जानकारी दिए ।