इलाम । रोङ गाउँपालिका ४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा ४५६ घरपरिवार आबद्ध छन् । तीमध्ये ११५ परिवार व्यावसायिक चियाखेती गर्छन् भने ८० परिवारले बेसारखेती सुरु गरेका छन् ।
सहकारीमा आबद्ध अन्य सदस्यका परिवारले आंशिक रूपमा विविध खेती गरिरहेका छन् । गत वर्ष गाउँपालिकाले बेसारखेती प्रवर्द्धन गर्न सहकारीमार्फत तालिमसँगै र अनुदान उपलब्ध गराएपछि किसान चिया र बेसारखेतीमा अकर्षित भएका हुन् ।
बाँदरले दुःख दिएर खेती गर्न मन नलागेका बेला रोङ ४ किटेनीकी उर्मिला गुरुङले सहकारीले बेसारको बीउ अनुदान दिएपछि बारीभरि बेसार लगाएकी छन् । ‘एक रोपनी जमिनमा ४० किलो बेसार रोपेको ४ सय किलो फल्यो । बाँदरले दुःख नदिने रहेछ । बजार खोज्नु पर्दैन, सहकारीले बारीबाट नै लैजान्छ,’ उनले भनिन्, ‘एक हजार ६ सयका दरले बिक्री भयो ।’
पहिले पहिले खानका लागि मात्र रोपिने बेसार व्यावसायिक खेती गर्न थालेपछि मनग्य आम्दानी हुन थालेको उनले बताइन् । सोही वडाको गैरीगाउँका हेम लाप्चा र रत्न लाप्चाले पनि जनही ४० किलो बेसार रोपेका थिए । मनग्य उत्पादन भएपछि उत्साहित बनेका उनीहरुले खेती विस्तार गर्ने योजना बनाएका छन् ।
सहकारीले किसानलाई पायक पर्ने ठाउँ छानेर संकलन केन्द्र तोकेको छ । त्यहाँबाट ३० रुपैयाँ प्रतिकिलोका दरले किसानले उत्पादन गरेको काँचो बेसार गरिद गर्ने गरिएको सहकारी संस्थाका व्यवस्थापक गणेश अर्यालले बताए ।
‘प्याकेजिङ’, ‘ब्रान्डिङ’ र ‘लेभलिङ’ पनि सहकारी नै गर्दै आएको छ । ‘धेरैले सहकारी संस्थाको कार्यालयमा आएरसमेत लैजान्छन्,’ उनले भने, ‘गाउँपालिकामा आउने अतिथिलाई पालिकाले स्थानीय उत्पादन नै कोसेलीका रूपमा उपहार दिन्छ ।’