काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दिपक खड्काले दुधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विशाल गुरुङलाई पदबाट बर्खास्त दबाब बढाएका छन् । सीईओ गुरुङले फेसबुकमा आफूविरुद्ध स्टाटस लेखेको भन्दै पदबाट बर्खास्त गर्न मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेखेका हुन् ।
गुरुङले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पक्षमा फेसबुकमा स्टाटस लेखेका थिए । फेसबुकमा स्टाटस लेखेर कुलमानलाई सहयोग गरेको आरोप लगाउँदै मन्त्री खड्काले गुरुङलाई बर्खास्त गर्न पत्राचार गरेका हुन् ।
मन्त्रालयका कर्मचारीहरु र स्वकीय सचिवमार्फत मन्त्री खड्काले आफू विरुद्ध लेख्नेहरुको सूची नै तयार पारेका छन् । सोही सूचीका आधारमा उनले ऊर्जा सचिव सुरेश आचार्यलाई कार्यकक्षमै बोलाएर आफूविरुद्ध लागेका सीईओ गुरुङलाई पदबाट तुरुन्तै हटाउन निर्देशन दिएका थिए ।
मन्त्रीका कर्मचारीले स्वकीयले मन्त्रीको निर्देशन भन्दै गुरुङलाई पदबाट हटाउन कुलमानलाई दबाब दिएका थिए । तर, कुलमानले त्यसलाई बेवास्ता गरेपछि फागुन ८ मा लिखित दबाब दिएको हो ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाबाट २०८१ फागुन ८ को च. नं. ५४९ नम्बरको पत्रबाट आयोजनाका कार्यकारी प्रमुखलाई हटाउन निर्देशन दिइएको छ । मन्त्रीको गैरकानुनी निर्देशनलाई कुलमानले भने कार्यान्वयन गरेका छैनन् ।
जलविद्युत व्यवसायी मन्त्री खड्का मन्त्रालय सम्हालेदेखि नै विवादमा छन् । ऊर्जा क्षेत्रको नीतिगत सुधारभन्दा उनको प्राथमकिता कुलमानको बर्खास्ती र विचौलियासँग मिलेर कमाउनमा केन्द्रित रहेक आरोप लाग्दै आएको छ ।