• Menu

अमेरिकी सहायता कहाँ र कसरी खर्च भयो ? प्रतिवेदन माग गर्दै सांसद बाँस्कोटा

नेपाल प्रफिट

२०८१ फागुन ११, १७:११

अमेरिकी सहायता कहाँ र कसरी खर्च भयो ? प्रतिवेदन माग गर्दै सांसद बाँस्कोटा

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन-कुन शीर्षकमा कति सहयोग आयो सरकारले सोको प्रतिवेदन तयार गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा उनले अमेरिकाले नेपाललाई आफ्ना ऐजेन्सी, दूतावास, सरकारमार्फत सहयोग कति र कुन शीर्षकमा आयो सोको बारेमा प्रतिवेदन बनाउनुपर्ने जरुरी भएको बताए ।

‘अमेरिकाबाट के कति सहयोग आएका छन्, अहिले ती सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । नेपालको अन्तरराष्ट्रिय छवि र राष्ट्रिय भावनामा चोट पुर्‍याउने काम कहीकतैबाट हुनु हुँदैन,’ बाँस्कोटाले भने, ‘नेपालले अमेरिकी सहयोगका सन्दर्भमा ठगी गरेको हो वा उहाँहरूले गर्नुभएको होरु सोबारे स्पष्ट हुनु जरुरी छ ।’

उनले अहिलेको अवस्थाबाट नेपालले स्पष्ट नीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता भएकामा जोड दिए । नेपालले कुन सहयोग लिने वा कुन सहयोग नलिने विषयमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

सांसद बाँस्कोटाले सन् २००२ देखि सन् २०२१ सम्म करिब २१ खर्ब र सन् २०२२ देखि २०२७ सम्म ६ सय ६९ मिलियन अमेरिकी डलर नेपालले सहयोग प्राप्त गर्ने भन्ने विषयबारे सरकारले अध्ययन गरी एउटा प्रतिवेदन बनाउनुपर्ने भन्दै त्यो प्रतिवेदनमा कति-कति रकम कहाँ खर्च भयो भन्ने स्पष्ट आउनुपर्ने सरकारसँग माग गरे ।

‘कुन सरकार हुँदा के भयो भनेर हिलो छ्याप्नुभन्दा अब नेपाल समृद्ध र सबल बनाउनका लागि सबै मिलेर योजनाबद्ध काम गर्नुपर्छ,’ सांसद बाँस्कोटाले भने, ‘प्राप्त सहयोग र खर्चसम्बन्धी सम्पूर्ण जानकारी सांसद् र आमनागरिकले थाहा पाउनुपर्छ ।’ उनले लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकलाई समृद्ध बनाउन आपसी सहकार्य र समन्वयको आवश्यकता औँल्याए ।