• Menu

विश्व बैंक प्रतिनिधिबाट चन्द्रागिरि नगरपालिकाको उच्च प्रशंसा

नेपाल प्रफिट

२०८१ फागुन ५, १०:२१

विश्व बैंक प्रतिनिधिबाट चन्द्रागिरि नगरपालिकाको उच्च प्रशंसा

काठमाडौं । विश्व बैंक प्रतिनिधिले चन्द्रागिरि नगरपालिकाको उच्च प्रशंसा गरेका छन् । नेपाल भ्रमणमा रहेको विश्व बैंकका दक्षिण एसियाका क्षेत्रीय निर्देशक म्याथ्यु भर्गिससहितको उच्च प्रतिनिधिले चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सम्पदा तथा संस्कृति संरक्षणलगायत प्रविधिमैत्री सेवा प्रवाहको उच्च प्रशंसा गरेको हो ।

योजना तर्जुमा, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन मूल्यांकन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनमा संलग्नता र सहभागिता टोलीले सराहना गर्दै नेपालमा संघीयता कार्यान्वयनपछिको तीन तहका सरकाबीचको समन्वय र सहकार्यका बारेमा जिज्ञासासमेत राखेको छ ।

चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, वडाध्यक्ष एवं कार्यबाहक प्रशासकीय अधिकृत सुजनराज खनाल, आर्थिक प्रशासन शाखा प्रमुख महेशदत्त भट्ट, मानव संशाधन तथा आन्तरिक व्यवस्थापन (प्रशासन) शाखा दामोदर रिजालसहित विभागीय प्रमुखसँग उच्चस्तरीय टोलीले आइतबार चन्द्रागिरि नगरपालिकामा छलफल गरेको छ ।

छलफलमा नगर प्रमुख गिरीले नगरपालिकाले सम्पादन गरिरहेको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सम्पदा तथा संस्कृति संरक्षणलगायत प्रविधिमैत्री सेवा प्रवाहका बारेमा प्रस्तुति दिनुका साथै दिगो विकास लक्ष्य हासिल गर्न उच्च प्राथमिता दिएको बताए । ‘विद्युतीय सुशासन, विपद् व्यवस्थापन, वातावरण र फोहोरमैला, सहरी सुरक्षा, उत्पादन, रोजगारी तथा बजारीकरण जस्ता क्षेत्र प्राथमितामा छन्,’ उनले भने, ‘स्वेच्छिक स्थानीय मूल्यांकन प्रतिवेदन संयुक्त राष्ट्रसंघमा प्रस्तुत भइसकेको छ ।’

विश्व बैंकका दक्षिण एसियाका क्षेत्रीय निर्देशक भर्गिसले चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सम्पदा तथा संस्कृति संरक्षणलगायत प्रविधिमैत्री सेवा प्रवाहको अनुभव अन्यत्रका लागि अनुकरणीय हुने बताए । ‘नेपाल भ्रमणका क्रममा चन्द्रागिरि नगरपालिकाका गतिविधिका बारेमा जानकारी लिन पाउनु मेरो लागि ऐतिहासिक क्षण रहेको छ,’ उनले भने ।