नवलपरासी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ बुटवल सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ । नारायणघाट-बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वीखण्डका विभिन्न १८ स्थानमा कालोपत्र भइरहेको छ ।
‘फेब्रुअरीमा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र पुर्याउने गरी काम भइरहेको छ,’ उनले भने, ‘पुल र कल्भर्ट रहेका ठाउँबाहेकका सडकमा कालोपत्र गर्नेगरी १८ ठाउँबाट काम भइरहेको छ ।’
पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये पुल र कल्भर्टको भाग करिब तीन किलोमिटर रहेको र अहिले गैँडाकोटबाट दाउन्नेसम्म ४० किलोमिटर एकतर्फी कालोपत्र भएको उनले बताए ।
दुई लेनतर्फ भएको सडकको कालोपत्रको गणना गर्दा भने करिब ६४ किमी सडक कालोपत्र भएको खनालले जानकारी दिए । अब करिब २२ किमी सडक कालोपत्र गरेपछि नारायणघाटबाट दाउन्नेसम्म एक लेन सडकमा कालोपत्रको काम सकिन्छ ।
‘यो महिना दाउन्नेसम्म नै एकतर्फी कालोपत्र गर्ने योजना हो,’ उनले भने, ‘दाउन्ने क्षेत्रमा १०३ वटा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले हामी दुम्कीबाससम्म कालोपत्र सक्ने गरी लागेका छौँ ।’ दाउन्नेको साँघुरो सडकमा कल्भर्ट निर्माण गर्दा सवारीसाधन एकतर्फी गर्नुपर्ने अवस्था रहेको र दाउन्नेसम्म कालोपत्र गर्न केही समय लाग्ने उनले बताए ।
सडक विस्तारका लागि ग्रेडर, लोडर, एक्साभेटरसहित १८ स्थानमा ५५० श्रमिक परिचालन गरिएको इन्जिनियर खनालले जानकारी दिए । ‘हालसम्म सडकको भौतिक प्रगति ५३.३ प्रतिशत भएको छ,’ उनले भने, ‘एक महिनाको अवधिमा १.४३ प्रतिशत प्रगति भएको छ ।’
पूर्वीखण्डमा जनवरीमा पाँच किलोमिटर कालोपत्र थपिएको छ भने थप १२ किमी कालोपत्रको तयारी भएको छ । गैँडाकोटको नारायणीको पुलनजिकै, डण्डा, सिजी र अरुणखोला बजार क्षेत्रमा कालोपत्रको लागि धमाधम काम भइरहेको छ । दुम्कीबासको जंगल क्षेत्रको करिब आठ किलोमिटर क्षेत्रमा पनि कालोपत्र गर्नेगरी काम भइरहेको सूचना अधिकारी इन्जिनियर खनालले जानकारी दिए ।
यस खण्ड निर्माणका लागि ग्लोबल बोलपत्रमार्फत चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडलाई ठेक्का परेको थियो । २०७५ माघ २२ मा सरकार र निर्माण कम्पनीबीच २०७९ साउन २२ भित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको हो ।
एक सय १४ किमी सडकलाई गैँडाकोट-दाउन्ने ६५ किलोमिटर र दाउन्ने-बुटवल ४९ किमी गरी दुई खण्डमा विभाजन गरी आह्वान गरिएको बोलपत्रमा दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ । २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेपछि सडक विस्तारको औपचारिक काम सुरु भएको थियो ।
निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलो पटक २०८० साउन ८ र दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको छ । निर्माण कम्पनीले कोभिड, निर्माण सामग्रीको अभावलगायत विभिन्न समस्या देखाउँदै ठेक्का सम्झौताको म्याद थप गराएको हो । साउन ८ भित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले पछिल्लो पटक म्याद थप गरेको छ ।
म्याद थप गरिएको चार महिना काम नै नगरी समय बिताएको निर्माण कम्पनीलाई सरकारले कारबाही गर्ने गरी पत्राचार गरेपछि डिसेम्बर २०२४ बाट पुनः काममा फर्किएको छ । दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गरी दुई-दुई लेनको बीचमा ‘ग्रिनरी’ राखिनेछ ।
तीन मिटरको बीच भागमा बिरुवा लगाउने गरी ठेक्का सम्झौता भएको छ । सडक विस्तारपछि दुवैतर्फ सडकको चौडाइ ७-७ मिटरको हुनेछ । बजार क्षेत्रमा ६-६ मिटरको ‘सर्भिस लेन’ निर्माण गरिनेछ ।
बजार क्षेत्रको १७.६ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ । बजार क्षेत्रमा सार्वजनिक सवारीसाधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने योजनाले जनाएको छ । सडकको ४२.७ किमी खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको पाँच किमी सडक तीन लेनको हुने जनाइएको छ ।