• Menu

रास्वपाको मुख्य माग : सबै राजकीय पद ग्रहण गरेका नेताहरुको सम्पत्ति छानबिन

नेपाल प्रफिट

२०८१ माघ १८, शुक्रबार १६:२८


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै राजकीय पद ग्रहण गरेका नेताहरुको सम्पत्ति छानबिनलाई मुख्य माग बनाउने भएको छ । प्रतिनिधि सभाको शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै रास्वपाका उपसभापति एवं सांसद स्वर्णीम वाग्लेले सबै राजकीय पद ग्रहण गरेका नेताहरुको सम्पत्ति छानबिनलाई चिरस्थायी माग बनाउने घोषणा गरेका हुन् ।

जाँचबुझ आयोग ऐनअन्तर्गत पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्नुपर्ने र नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने उनले स्पष्ट पारे । ‘अब हाम्रो चिरस्थायी माग हुनेछ- जाँचबुझ आयोग ऐनअन्तर्गत पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा अब आयोग गठन हुनुपर्नेछ । सबै राजकीय पद ग्रहण गरेका नेताहरुको सम्पत्ति छानबिन गर्ने गरेर अब हामी अगाडि जानुपर्नेछ,’ सांसद वाग्लेले भने ।

उनले सबै भ्रष्टाचारका सबै काण्डहरुको छानबिनका लागि रास्वपाले संसदीय छानबिन समिति माग गर्ने पनि उद्घोष गरे । ‘अहिले चलनचल्तीमा आएका सबै काण्डहरुको एक-एक गरेर हामी संसदीय छानबिन समिति माग गर्नेछौँ । भुटानीदेखि कम्बोडियासम्म, वाइडबडीदेखि एनसेलसम्म, बालुवाटारदेखि गिरिबन्धुसम्म यी सबैको छिनोफानो अब हामीले गर्नुपर्ने हुन्छ,’ उनले भने ।

पार्टी सभापति रवि लामिछानेमाथि अत्याचार भएको सांसद वाग्लेले दाबी गरे । ‘सहकारी ठगीको कसुरबाट सुरु भएको मुद्दा तपाईंहरुले कहाँ पुर्‍याउनुभयो ? संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा । अरुको लागि खनेको खाडलमा आफैँ पर्छु कि जस्तो मान्य सांसदहरुलाई लाग्छ कि लाग्दैन ?’ उनले प्रश्न गरे ।

दुई तिहाइको सामर्थ्य भएको सरकार एउटा पात्रमाथि खनियो र सात महिना अवधिको प्रमुख उपलब्धि भनेकै रवि लामिछानेलाई जेल हाल्नु रहेको उनले बताए । वाग्लेले भने, ‘यो असाध्यै खेदजनक छ ।’