• Menu

संसदमा प्रधानमन्त्रीले भने- यो सरकारको सबैभन्दा पहिलो प्राथमिकता थालेको काम सक्ने हो

नेपाल प्रफिट

२०८१ माघ १८, शुक्रबार १४:०४

संसदमा प्रधानमन्त्रीले भने- यो सरकारको सबैभन्दा पहिलो प्राथमिकता थालेको काम सक्ने हो

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सबैभन्दा पहिलो प्राथमिकता नै थालेको काम सक्नु भएको बताएका छन् । प्रतिनिधि सभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै शुक्रबार उनले सरकारको प्राथमिकता विकासका काम सक्नु भएको बताएका हुन् ।

‘पछिल्लो नौ वर्षमा बुटवल-पाल्पा सडक खण्डको सिद्धबाबामा ४२ पटक सवारी दुर्घटना भयो, धेरैको ज्यान गयो’ भन्ने शीर्षकको समाचार पढेपछि आङ सिरिंग भएको र त्यस स्थितिलाई बदल्ने सोच पलाएको उनले बताए ।

‘त्यस्तो समाचार हेर्दैगर्दा मेरो आङ सिरिंग भयो । सबैखाले सवारी दुर्घटनामा ज्यान गुमाउने परिवारका वृद्ध बाबुआमा र टुहुरा छोराछोरीको वेदनाले म केही भावुक पनि बनें । सडक पूर्वाधार असुरक्षित हुँदा हामी दिनदिनै यस्ता खबर सुन्न अभिशप्त छौं,’ उनले भने ।

त्यसपछि आफूले यस स्थितिलाई बदल्ने संकल्प लिएको उनले बताए । ‘यसपटक संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा एक साताअघि सिद्धबाबा सुरुङमार्ग ब्रेक-थ्रु भएको छ,’ प्रधानमन्त्रीले भने, ‘अब केही समयभित्र हामी यस सुरुङमार्गलाई सञ्चालनमा ल्याउनेछौं । यसले पाल्पा, स्याङ्जा, कास्की, गुल्मी र अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठानलाई बुटवलसँग जोड्नेछ । यही सडक कालीगण्डकी करिडोरसँग पनि जोडिँदै छ र त्यहाँका जनताको जीवनमा यसले ठूलो परिवर्तन ल्याउनेछ ।’

सडक यात्राको असुरक्षा घटाउन र पूर्वाधारलाई दिगो बनाउन सुरुङ मार्गको योजना अघि सारेको उनले बताए ।

प्रधानमन्त्री भएपछि संसदबाट विश्वासको मत लिने क्रममा ‘यो सरकारको सबैभन्दा पहिलो प्राथमिकता थालेको काम सक्ने हो’ भनेको स्मरण गर्दै उनले थालेका काम कहाँ पुगे भन्ने फेहरिस्त प्रस्तुत गरे-

१. काठमाडौं-तराई द्रुत मार्गअन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक-थ्रु भएको छ ।

२. चीन र भारतलाई जोड्ने हाम्रो राष्ट्रिय गौरवको आयोजना जोगवनी-किमाथांका सडकमार्ग केही दिनअघि मात्रै ब्रेक-थ्रु भएको छ ।

३. ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल-नारायणगढ खण्डको सडक निर्माणको काम यो सरकार आउँदाका बखत अलपत्र थियो। आज त्यसको काम द्रुत गतिमा अघि बढिरहेको छ ।

४. यो सरकार आउँदा धुलो उडिरहेको मुग्लिन-पोखरा सडक आज चिल्लो र आकर्षक भएको छ ।

५. खेल हाम्रा युवाहरुको जीवनशैली बनेको छ । त्यसैले यसपटक क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेलमैदानलाई रंगशाला बनाउने र त्यसमा फ्लड लाइट जोड्ने निर्णय गरेको थियो । त्यसका लागि टेन्डर आह्वान भएको छ- तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्नेगरी काम अघि बढिरहेको छ ।

६. रंगशालाकै कुरा गर्दा सुर्खेतमा आधुनिक कर्णाली रंगशाला तयार भएको छ । देशको दुर्गम भूगोल मानिने कर्णालीमा आधुनिक रंगशाला- यो हाम्रा युवाको भविष्यका लागि सुखद् सन्देश हो ।

७. विकास निर्माणका काममा ‘ब्रेक-थु’ मात्र होइन, ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौं ।