मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरिँदै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै असोज १५ देखि सिमेन्ट उत्पादन बन्द गरेको छ ।
उपकरण मर्मतसम्भार गरी मंसिर पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताइए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । ‘उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो तर त्यो मात्रैले पनि उत्पादन रोएिको होइन,’ उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, ‘आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु गर्ने भन्ने अन्यौलता बढेको हो ।’
‘हिले उत्पादन ठप्प छ तर नियमित खर्च छ जस्ताको तस्तै छ । ‘उत्पादन बन्द भए पनि कर्मचारीको तलब भत्ता दिनै परेको छ, केही इन्धन खर्च र सामान्य मर्मत खर्च भइरहेकै छ,’ उनले भने, ‘यसका कारण उद्योगमा आर्थिक समस्या त बढ्दै जाने कुरा त भई नै हाल्यो ।’
उत्पादन बन्द हुँदा कर्मचारी त्यत्तिकै बसेर दिन बिताइरहेका छन् । उद्योगमा १६६ स्थायी, दैनिक ज्यालादारीका १०० र ५२ सुरक्षाकर्मी गरी ३१८ जना जनशक्ति कार्यरत रहेको प्रवक्ता आचार्यले बताए ।
उनका अनुसार तत्काल उद्योग सञ्चालनका लागि चाहिने आवश्यक कच्चा पदार्थको समेत समस्या छ । ‘उद्योग दैनिक सञ्चालन भयो भने कम्तीमा दैनिक १२० ट्रन कच्चा पदार्थ कोइला आवश्यक पर्छ,’ उनले भने, ‘तर त्यो पनि छैन र कोइलाको पुरानो भुक्तानी भइनसकेकाले तत्काल कोइला आउने सम्भावना पनि छैन ।’ यसबाहेक आर्थिक समस्याका कारण कर्मचारीले अतिरिक्त समयमा गरेको कामको भुक्तानी गर्न नसकिएको उनले बताए ।
आर्थिक समस्याकै कारण विद्युत् प्राधिकरणको लामो समयदेखि महसुल बुझाउन नसकिँदा अहिले बक्यौता थुप्रिएको छ । ‘विद्युत् उपभोग त गर्यो तर महसुल बुझाउन सकिएन,’ उनले भने, ‘अहिले ठ्याक्कै कति महसुलको बक्यौता बुझाउन बाँकी भन्न नसकिए पनि करिब ३०–४० करोड जति बक्यौता बाँकी होला ।’ त्यसैले पनि विद्युत् प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गरिदिनुस् भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।
२०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगबाट २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु भएको हो । अहिले उपकरणहरु पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ ।
‘उपकरण पुरानो र बिग्रिसकेको अवस्थामा छ, त्यस्तो अवस्थामा हामीले अपेक्षाकृत रुपमा सिमेन्ट उत्पादन गर्न सकिरहेका छैनौँ,’ उद्योगका प्राविधिक प्रमुख कामेश्वर मण्डलले भने, ‘त्यही भएर हामी अहिले पुरानो उपकरणको मर्मत गरिरहेका छौं, त्यसमा मेकेनिक लगिरहनुभएको छ, धेरै कामहरु सकिसकेको छ र थोरै बाँकी छ, छिट्टै मर्मत काम सक्छौँ ।’ त्यसपछि सिमेन्ट उत्पादन गर्न सकिने उनले बताए ।
एकपछि अर्को समस्यासँग जुझ्दै आएको हेटौँडा सिमेन्ट उद्योगले २०८१ भदौ तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको थियो । यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योग तीन महिनादेखि भने ठप्प छ ।
उपकरणको मर्मत कार्य सम्पन्न भएर पुस महिनाको दोस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरिए पनि उपकरण मर्मत गर्न अझ समय लाग्ने भएकाले उत्पादनमा ढिलाइ भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए ।
‘उद्योगको क्लिनिकलर मेसिनलगायतका उपकरणको मर्मत कार्य अझै भइरहेकै छ,’ उनले भने, ‘हामीले पुस दोस्रो सातासम्ममा मर्मत सकिन्छ र त्यसलगतै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौँ ।’ तर, अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योगको उत्पादन सुरु हुन अझै केही दिन लाग्न सक्ने उनले अनुमान गरे ।
उद्योगसँग आर्थिक समस्याका बाबजुत पनि उपकरणको मर्मत कार्य सम्पन्न हुनेबित्तिकै सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भइरहेको उनले बताए । ‘उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मतसम्भारमा समय लागेको हो,’ उनले भने, ‘मर्मतसम्भारको काम तीव्र रुपमा भइरहेकाले छिट्टै सकिने र लगत्तै उत्पादन सुरु गर्ने तयारी भएको छ ।’
तर, सधैं उपकरण बिग्रिरहँदा समस्या उपकरणमा कि कर्मचारीमा भन्ने प्रश्न उब्जिएको छ ।