काठमाडौं । मधेस प्रदेशका उद्योगले क्षमताको आधामात्र उत्पादन गरिरहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (मधेस प्रदेश) अनुसार मधेसका उद्योगले क्षमताको औसत ५१.०३ प्रतिशतमात्र उत्पादन गरिरहेको पाइएको हो ।
आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा उद्योगको उत्पादन क्षमता औसतमा १०.५३ प्रतिशतले खुम्चिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा यहाँका उद्योगको औसत क्षमता उपयोग ६१.५६ प्रतिशत थियो ।
प्रतिवेदनअनुसार हल्का पेयपदार्थ उद्योगले सबैभन्दा बढी ९७.७८ प्रतिशत क्षमता उपयोग गरिरहेका छन् । त्यसैगरी वनस्पति घिउ उद्योगको क्षमता उपयोग सबैभन्दा कम अर्थात् ०.४० रहेको देखाएको छ ।
वनस्पति घिउ उद्योगको क्षमता अति न्यून रहनुमा गार्हस्थ्य तथा औद्योगिक प्रयोग कम हुँदै जानु र विकल्पमा भटमासको तेल तथा पाम तेलको प्रयोग बढ्दै जानुलाई प्रतिवेदनमा उल्लेख गरिएको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा प्लास्टिकजन्य उद्योग र छाला तथा छालाको सामान उत्पादन गर्ने उद्योगको क्षमतामा अघिल्लो अवधिको तुलनामा कमी आएको छ । फलामको छड तथा पत्ती उद्योगको क्षमता उपयोग ४१.२५ प्रतिशत छ । अघिल्लो आव २०७९/८० मा फलामको छड तथा फलामको पत्ती उद्योगको क्षमता उपयोग ९१.९६ प्रतिशत थियो ।
आव २०८०/८१ म सिमेन्ट उद्योगको क्षमता उपयोग ३७.६९ प्रतिशत छ । जबकि, आव २०७९/८० मा सिमेन्ट उद्योगको क्षमता उपयोग ३९.३९ प्रतिशत थियो । आव २०८०/८१ मा गहुँको पिठो उद्योगको क्षमता उपयोग ७३.६९, भटमासको तेल उद्योगको क्षमता उपयोग १४.२३, साबुन उद्योगको क्षमता उपयोग २९.१९, आल्मुनियम उत्पादन उद्योगको क्षमता उपयोग ८५.७५, केमिकल लिक्विड पदार्थ उद्योगको क्षमता उपयोग ४३.२६ प्रतिशत छ ।
राष्ट्र बैंकको प्रतिवेदनले अधिकांश उद्योग ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालित रहेकाले बढी क्षमतामा सञ्चालन हुने वातावरण तयार पार्नुपर्ने औँल्याएको छ । प्रतिवेदनमा भनिएको छ, ‘श्रमिक, ऊर्जा तथा बजार जस्ता कारणले उत्पादन अवरुद्ध हुने अवस्था अन्त्य गर्दै वर्षैभरि उद्योग चल्ने वातावरण बनाई कच्चापदार्थको नोक्सानी र उत्पादनको लागत घटाउनुपर्ने देखिन्छ ।’