काठमाडौं । भक्तपुरको बालकोटमा खोटाङका कुलप्रसाद आचार्य र उनका छोरा प्रविणको हत्या भएको घटनामा प्रहरीले जेठो छोरालाई पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान मिलन आचार्यलाई महाराजगन्जबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले हत्या स्वीकार गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ का ५६ वर्षीय कुलप्रसाद र उनका कान्छो छोरा २२ वर्षीय प्रविण सोमबार मृत फेला परेका थिए । घटना भने शनिबार राति भएको हुन सक्ने प्रहरीले बताएको छ ।
शनिबार कुलप्रसादसँगै उनका दुई छोरा मिलन र प्रविणसँगै खाना खाएर बालकोटस्थित आफ्नो डेरा कोठामा सुतेका थिए ।
उक्त फ्ल्याटमा चार कोठा रहेकोमा दुई कोठामा भने अन्य व्यक्तिहरू भाडामा बस्दै आएका थिए । शनिबार खाना खाएर सुतेका उनीहरूको कोठा आइतबार बिहानै बाहिरबाट ताला लागेको देखीएको थियो । प्रहरीका अनुसार मिलन शनिबार रातिनै कोठाबाट बाहिर निस्किएको सीसीटीभी फुटेजमा देखिएको थियो ।
बालकोटस्थित एक घरमा मिलन र प्रविण दाजुभाइ कोठा भाडामा लिएर बस्दै आएका थिए । उनीहरूलाई भेट्न कुलप्रसाद केही दिनअघि खोटाङबाट आएका थिए ।