• Menu

पाँच महिनामा ११ अर्ब २७ करोडको ईभी आयात, चिनियाँ गाडीको हिस्सा ७६ प्रतिशत

नेपाल प्रफिट

२०८१ पुस ८, १७:०२

पाँच महिनामा ११ अर्ब २७ करोडको ईभी आयात, चिनियाँ गाडीको हिस्सा ७६ प्रतिशत

काठमाडौं । विद्युतीय सवारी साधन (ईभी)मा आकर्षण उच्च दरमा बढेको छ । आईसीई (इन्धन) गाडीको भन्दा दैनिक खर्च कम आउने र मर्मतसम्भारमा पनि सजिलो हुने भएपछि नेपाली बजारमा ईभीको लोकप्रियता बढेको हो ।

भन्सार विभागको पाँच महिनाको तथ्यांकले ईभीप्रतिको आकर्षणलाई स्पष्ट पारेको छ । गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मंसिरसम्ममा ३ हजार ६८६ ईभी आयात भएकोमा चालु आवको सोही अवधिमा ४ हजार ६९७ वटा ईभी आयात भएको छ । समीक्षा अवधिमा ईभी आयात २७.४२ प्रतिशतले बढेको हो ।

पाँच महिनामा चीनबाट नेपालमा ७६ प्रतिशतभन्दा बढी ईभी आयात भएको छ । कुल ४ हजार ६९७ ईभी आयात भएकोमा ३ हजार ५८९ वटा चीनबाट आयात भएका हुन् । त्यस्तै भारतबाट १ हजार ९६ वटा आयात भएका छन् । यो अवधिमा जर्मनीबाट ९, अमेरिकाबाट २ र दक्षिण कोरियाबाट एउटा ईभी भित्रिएको छ ।

समीक्षा अवधिमा ५० किलोवाटसम्मका १ हजार ४९०, ५१ देखि १०० किलोवाटसम्मका २ हजार ७५७, १०१ देखि २०० किलोवाटसम्मका ४४३, २०१ देखि ३०० किलोवाटसम्मका ५ र ३०० किलोवाटमाथिका २ वटा ईभी आयात भएका छन् ।

पाँच महिनामा ११ अर्ब २७ करोड २१ लाख रुपैयाँभन्दा बढी मूल्यका ईभी आयात भएका छन् भने सरकारले ६ अर्ब ९६ करोड २८ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ ।