रसुवा । रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रोपावरको परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत गृह निर्माण गरिएको छ ।
विद्युत गृहमा जडित ३३-३३ मेगावाट क्षमताका तीनवटा मेसिनबाट विद्युत उत्पादन हुनेछ । हाल चिसोयामका कारण खोलाको पानी बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिए । तीनवटै युनिट चालु गराइसकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत उत्पादन हुने उनले बताए ।
आयोजना कुल लागत १८ अर्ब ६९ करोड २० लाख रहेको बताइएको छ । सन् २०१४ देखि पूर्णरूपमा निर्माण सुरू भए पनि विगतमा भएको पेट्रोलियम पदार्थको अभाव, २०७२ सालको विनाशकारी भूकम्प, भोटेकोशीमा वर्षातको समयमा आइरहने बाढी, वर्षायाममा राजमार्ग अवरूद्ध हुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको हो ।
रसुवागढी जलविद्युतले वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन गरेर तीन अर्ब २५ करोड आय गर्ने आयोजनाले गर्नेछ । रसुवागढीमुनि भोटेकोशीमा बाँध बानेर चार हजार एक सय ८५ मिटर सुरूङको सहायताले टिमुरे गाउँको दुहार तातोपानी पारिको पहराभित्र निर्माण गरिएको विद्युत गृहमा तीनवटा टर्वाइन जडान भएको र जडित सबै उपकरण चालु भइसकेको प्राविधिकले बताएका छन् ।
चिलिमे जलविद्युत कम्पनीको भगेनी संस्था रसुवागढी जलविद्युत् कम्पनीमार्फत सो आयोजना निर्माण भएको हो । यहाँको चिलिमे जलविद्युत केन्द्रलाई धितो बन्धक राखी कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकाय समेतको शेयर लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको हो ।