काठमाडौँ । मन्त्रिपरिषद्को पुस ५ को निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा दुई जना र गृहसचिवस्तरको सोही दिनको निर्णयबाट प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पाँच जना गरी पदोन्नति भएका सात जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित समारोहमा उनीहरुलाई दर्ज्यानी प्रदान गरिएको हो ।
दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दुर्गा सिंह र भरतबहादुर बोहरा छन् ।
त्यस्तै प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी उपरीक्षकहरू डा. रामप्रसाद शर्मा, डा. नवीन लागेजू, डा. समृद्धि कार्की, डा. अन्जली तण्डुकार र प्रदिन ताम्राकार छन् ।