काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालत कास्कीमा पेस भएको छ । साढे चार सय पेज लामो आरोपपत्र र सम्बन्धित प्रमाणसहित अदालतमा मुद्दा पेस गरिएको हो ।
लामिछानेविरुद्ध अभियोग पत्र पेस भइसकेको जिल्ला अदालत कास्कीले जनाएको छ । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगी सँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पुस १ गते सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा लामिछानेसहित गितेन्द्रबाबु (जीवी) राईलगायतलाई करिब एक अर्ब बिगो मागदाबी गर्नुपर्ने राय उल्लेख छ । सोही प्रतिवेदनका आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष राईसहित १९ जनाविरुद्ध पुस ५ मा नै मुद्दा दर्ता भइसकेको छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन् । यसबीचमा लामिछानेलाई बुटवल, चितवन, काठमाडौं र वीरगन्जमा लगेर बयान लिइएको थियो ।