• Menu

कर्मचारीसँग अर्थमन्त्रीको असन्तुष्टि- राजस्व संकलनको वृद्धिदर कम भयो

नेपाल प्रफिट

२०८१ कात्तिक २०, १७:३८

कर्मचारीसँग अर्थमन्त्रीको असन्तुष्टि- राजस्व संकलनको वृद्धिदर कम भयो

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औसतभन्दा माथि उठेर काम गर्न र  मातहतका कर्मचारीलाई काममा लगाउन निर्देशन दिएका हुन् ।

सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै उनले गत सालको यही अवधिको तुलनामा १३ प्रतिशत राजस्व वृद्धिमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताए ।

संविधान र राष्ट्रको हितलाई ध्यान दिई कानुनअनुसार करदातासँग राजस्व संकलन गर्नुपर्ने धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले समस्यालाई तत्काल सम्बोधन गर्न पनि निर्देशन दिए ।

‘राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षाकर्मीलगायत अन्तरनिकाय समन्वय गरी काम गर्नुहोला,’ उनले भने, ‘राजस्व संकलनमा कमजोरी गर्नेलाई छुट नदिन र ठाउँका ठाउँ एक्सन लिनुहोला ।’

अर्थमन्त्री पौडेलले राजस्व संकलनका लागि नीतिगत, संरचनागत र प्रक्रियागत सुधारका लागि नेतृत्वले साथ दिने उनले बताए । बैठकमा अर्थ सचिव, राजस्व सचिव, राजस्व महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशकलगायतको उपस्थिति थियो ।