काठमाडौं । राजस्व चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनका तीन महत्वपूर्ण विभागले संयुक्त रणनीति बनाएका छन् ।
भन्सार विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका विभागीय प्रमुखसहित उच्च पदस्थ अधिकारीहरू संलग्न बैठकले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने निर्णय गरेको हो ।
बैठकले अन्तर विभागीय समन्वय बढाउने र आपसमा सूचना आदानप्रदान तथा सहकार्यलाई थप मजबुत बनाउनेसमेत निर्णय गरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा १३.३ प्रतिशतले राजस्व वृद्धि भएको छ ।