• Menu

चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने जापानका प्रधानमन्त्रीको भनाइ

नेपाल प्रफिट

२०८१ कात्तिक १२, १३:१०

चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने जापानका प्रधानमन्त्रीको भनाइ

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि निर्वाचनमा आफ्नो गठबन्धनले अपेक्षित नतिजा नल्याएपनि सरकारको नेतृत्वमा रहिरहने प्रतिबद्धता जनाएका छन् ।

इशिबाले अक्टोबर १ मा पदभार ग्रहण गरेको केही दिनपछि अक्टुबर २७ का लागि निर्वाचनको घोषणा गरेका थिए ।

सन् १९५५ देखि जापानमा शासन गरिरहेको उनको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का चुनाबमा निकै कमजोर नतिजा देखिएको छ ।

एलडिपी नेतृत्वको गठबन्धनले बहुमत गुमाउने अनुमान गरिएसँगै इशिबाले ‘राजनीतिक शून्यता’ हुन नदिने बताउँदै सत्तामा रहिरहने प्रतिबद्धता जनाएका हुन्।

‘म जापान र जापानी जनताको रक्षा गर्दै आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु,’ इशिबाले भने ।

उनले भने, ‘सबैभन्दा ठूलो चुनावी कारक पार्टीका जिम्मेवार नेताको नै आर्थिक अनियमिततासँग जोडिएका मुद्दामा सम्लग्नता देखिनु र यसबाट जनतामा एलडिपीप्रति ‘शंका, अविश्वास र क्रोध’ सिर्जना हुनु नै रहेको बताइएको छ ।’

‘म पैसा र राजनीतिको विषयमा आधारभूत सुधार गर्नेछु,’ इशिबाले भने, ‘मतदाताहरूले पार्टीमाथि ‘कठोर निर्णय’ दिएका छन्।’