• Menu

यातायात कार्यालयद्वारा तीन महिनामा २२ करोड भन्दा बढी राजस्व संकलन

नेपाल प्रफिट

२०८१ कात्तिक १२, १०:५१

यातायात कार्यालयद्वारा तीन महिनामा २२ करोड भन्दा बढी राजस्व संकलन

मकवानपुर । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा २२ करोड ८१ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले २२ करोड ८१ लाख ४७ हजार ८ सय २ राजस्व संकलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चालु आवको तीन महिनामा सवारी करबाट दुई करोड ७४ लाख ६४ हजार ९ सय ५१, सवारी चालक अनुमतिपत्र वितरणबाट ७ करोड ५८ लाख ७२ हजार ४८, यातायात क्षेत्रको आम्दानीबाट १२ करोड ४८ लाख दुई हजार ५ सय ५३ तथा बेरुजुबाट ८ हजार २ सय ५० राजस्व संकलन भएको छ ।

यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल ५ सय ७३ वटा, साना सवारी तीन सय ३२ वटा, टेम्पो-ई-रिक्सा दुई सय ४८ वटा, ठूला तथा मझौला सवारी एक सय ५८ वटा र ट्रयाक्टर एक गरी एक हजार ३ सय १३ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।

यस अवधिमा नयाँ एक हजार एक सय ९६ र वर्ग थप ८ सय ५९ गरी दुई हजार ५५ जनालाई सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

यस्तै सो अवधिमा एक हजार ५ सय ४६ नवीकरण, २९ वटा प्रतिलिपी १७ नवीकरण प्रतिलिपी दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा ५६ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो भने ४ हजार ३ सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो ।