• Menu

गैरआवासीय नेपालीले गरेको लगानीको प्रतिफल सहजै लैजान सक्ने कानुनी व्यवस्था मिलाउँदै सरकार

नेपाल प्रफिट

२०८१ कात्तिक ११, १२:४४

गैरआवासीय नेपालीले गरेको लगानीको प्रतिफल सहजै लैजान सक्ने कानुनी व्यवस्था मिलाउँदै सरकार

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिलाई अघि बढाउन दुई ठूला जिम्मेवार राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको बताएका छन् ।

संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा रहि विभिन्न पेशा व्यावसाय गर्दै आएका नेपाली समुदायलाई शनिबार नेपाली दुतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले जनतामा रहेको निराशा चिर्दै, आशा जगाउने र सुन्दर भविष्य निर्माण गर्ने दिशामा वर्तमान सरकार क्रियाशील रहेको बताए ।

उक्त अवसरमा पौडेलले गैरआवासीय नेपालीहरूलाई नेपालमा उर्जा, पर्यटन, सूचना प्रविधि लगायत उच्च सम्भावनाका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

साथै, पौडेलले गैर आवासीय नेपाली नागरिकहरूलाई मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्नमा आवश्यक कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै गैरआवासीय नेपालीको लगानी रहने एनआरएनए डेभलपमेन्ट फन्ड कार्यान्यनमा जाने अन्तिम चरणमा रहेको पनि जानकारी दिए ।

‘नेपालमा लगानीको आकर्षक प्रतिफल प्राप्त गर्ने अवसर छ, सरकारले तपाईंहरूको लगानी सुरक्षाको ग्यारेन्टि गर्दछ, तपाईंहरूले गरेको लगानीको प्रतिफल सहजै लैजान सक्ने गरी कानूनी एवं प्रकृयागत प्रवन्ध मिलाउँदै छ,’

पौडेलले भने ‘व्यक्तिगत रुपमा प्रतिफल प्राप्त गर्न र नेपालको आर्थिक समृद्धिमा योगदान गर्न पनि म साथीहरूलाई आग्रह गर्दछु।’

गैरआवासीय नेपालीहरूले नेपालको भाषा, संस्कृति, सभ्यता र जीवनशैलीलाई अवैतनिक वाणिज्य दुतको रुपमा विश्वभर फैलाउन योगदान गरेको उल्लेख गर्दै उनले आफ्नो मातृभूमि प्रतिको आस्था, विश्वास र सम्मानप्रति गैरआवासीय नेपालीहरूलाई धन्यवाद दिए ।

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानी सम्वद्ध कानूनहरूलाई समसामयिक परिमार्जन गरी उपयुक्त वातावरण निर्माण भएको उल्लेख गर्दै नेपालमा लगानीका लागि प्रशस्त अवसर र संभावना भएकाले गैरआवासीय नेपालीहरूलाई विदेशमा रहँदा आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधिलाई मुलुकको विकासमा उपयोग गर्न आग्रह गरे ।

नेपालमा लगानीका लागि उच्च संभावना र प्रतिफलको अवसर रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालको निजी क्षेत्र गैरआवासीय नेपालीसँग सहकार्य र साझेदारी गर्न तत्पर रहेको पनि बताए ।

कार्यक्रममा अमेरिकामा रहेर विभिन्न पेशा व्यावसाय गर्दै आएका गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने सम्बन्धमा आफ्ना अनुभव तथा सुझावहरू राखेका थिए।