• Menu

डेङ्गी नियन्त्रणका लगि देशभरका कार्यालयमा सरसफाइ अभियान

नेपाल प्रफिट

२०८१ कात्तिक ९, शुक्रबार १४:४०

डेङ्गी नियन्त्रणका लगि देशभरका कार्यालयमा सरसफाइ अभियान

काठमाडौँ । सरकारले डेङ्गी नियन्त्रणका लागि शुक्रबार देशभरका कार्यालयमा सरसफाइ अभियान सञ्चालन गरेको छ ।सरकारले डेङ्गीको संक्रमण बढिरहेकाले आजदेखि देशव्यापी रुपमा लामखुट्टेको बासस्थानको ‘खोज र नष्ट गर’ अभियान थालेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयसहित सिंहदरबारभित्रका मन्त्रालयहरु, संवैधानिक निकाय, सेना, प्रहरी, सशस्त्रलगायत विभिन्न कार्यालयका कर्मचारी सरसफाइ अभियानमा सहभागी भएका जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि हरेक शुक्रबार ‘१० बजे १० मिनेट’ कार्यक्रममा सहभागी हुन मन्त्रालय, विभाग, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिकलाई आह्वान गरेको छ ।

प्रवक्ता डा. बुढाथोकीले दसैँपछि डेङ्गी संक्रमित बढ्नुका साथै स्वास्थ्य संस्थामा परीक्षण गराउने र भर्ना हुनेको दर पनि बढेकाले नियन्त्रणका लागि विगतका वर्षमा झै खोज र नष्ट अभियान सञ्चालन गरिएको बताए । उनले भने, ‘आमनागरिक, सेना, प्रहरी, कर्मचारी सबैलाई यो अभियानमा सहभागी हुन अनुरोध गरेका छौँ ।’

शुक्रबारमा मात्र सीमित नराखी कम्तीमा हप्तामा एक पटक भए पनि अभियानमा सहभागी भएमा डेङ्गी नियन्त्रण गर्न सकिने प्रवक्ता डा. बुढाथोकीले उल्लेख गरे । डेङ्गी संक्रमणबाट सुरक्षित हुन सरसफाइमा विशेष ध्यान दिनुपर्ने भन्दै आफ्नो गाउँटोल सफा राख्न उनले सबैलाई सुझाब दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीका अनुसार हालसम्म डेङ्गी संक्रमितको संख्या २२ हजार ८२ पुगेका छन् । देशभर ७६ जिल्लामा डेङ्गी फैलिएको छ ।

काठमाडौँ, कास्की, तनहुँ, चितवन र पर्वतमा संक्रमितको संख्या बढी देखिएको छ । हालसम्म डेङ्गीबाट ११ जनाको मृत्यु भइसकेको छ ।

डेङ्गी नियन्त्रणका लागि पानी जम्मा गरी राखिएका पानीको ट्यांकी, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फालिएका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टीका बट्टा, प्लास्टिकजन्य वस्तु तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्नुपर्छ ।