म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोम बजारसहित घरपझोङ गाउँपालिकाका पाँचवटा वडालाई समेट्ने चक्रपथ सडक कालोपत्र गर्न थालिएको छ ।
गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रममार्फत पूर्वाधार विकास कार्यालयले घरपझोङ चक्रपथको जोमसोम-ठिनी-ढुम्बा खण्डमा कालोपत्र गर्न थालेको हो ।
कार्यालयका प्रमुख अजय श्रेष्ठका अनुसार निर्माण व्यवसायीले बिहीबारदेखि जोमसोमतर्फबाट प्रिमिक्स प्रविधिको कालोपत्र गर्न थालेका हुन् । पहिलो दिन एकतर्फी तीन सय मिटर कालोपत्र भएको छ । जोमसोम-ठिनी-ढुम्बा-छैरो खण्डको १२ किलोमिटरमध्ये पहिलो चरणमा ५ किलोमिटर कालोपत्र गरिने छ ।
६ किलोमिटर कालोपत्र र ६ किलोमिटर ग्राभेल गर्न २०७६ साल असार २६ गते निर्माण कम्पनीसँग २१ करोड ४३ लाख १३ हजारमा निर्माण कम्पनीसँग सम्झौता भएको जनाउँदै उक्त कार्यालयले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको बताएको छ ।
घरपझोङ चक्रपथ सडकले जोमसोम-ठिनी-ढुम्बा-चिमाङ, छैरो, मार्फा र स्याङ गाउँ जोडिन्छन् । चक्रपथको मार्फा-स्याङ-जोमसोम खण्ड संघीय सरकारको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनामार्फत स्तरोन्नतिको चरणमा छ । जोमसोम-ठिनी-ढुम्बा-चिमाङ-छैरो खण्डको स्तरोन्नति प्रदेश सरकारले गर्न लागेको हो ।
मुस्ताङको नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको ठिनीगाउँ र ढुम्बाताल आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । सडक कालोपत्र र ग्राभेल भएपछि स्थानीयवासी, पर्यटकलाई आवतजावतका साथै कृषि उपजको बजारीकरणमा सहज हुनेछ ।
घरपझोङ चक्रपथअन्तर्गत ठिनीखोलामा प्रदेश सरकारमार्फत मोटरेबल पुल निर्माण सुरु भएको र छैरो-मार्फा जोड्ने बेलीब्रिज निर्माणका लागि संघीय सरकारसँगको साझेदारीमा घरपझोङ गाउँपालिकाले ठेक्का आह्वान गरिसकेको मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताए ।
ढुम्बाखोलामा मोटेरबल पुल बनाउन पूर्वाधार विकास कार्यालयमार्फत विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार गरेर स्रोत सुनिश्चितताका लागि पहल भइरहेको उनले बताए । ठिनीखोलामा ३५ मिटर लामो प्रिस्टेस प्रविधिको मोटरेबल पुल निर्माणका लागि छनोट भएको निर्माण कम्पनीले काम थालेको छ ।
मुस्ताङस्थित पूर्वाधार विकास कार्यालयसूचना अधिकारी घनश्याम रोकाले ४ करोड ४६ लाख ७० हजार ३ सय को लागतमा ठिनीखोलामा पुल बनाइने बताए ।