काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कार्यकालका सय दिनमा ५५ उपलब्धि हासिल भएको विवरण सार्वजनिक गरेका छन् ।
मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले एक सय दिनका लागि निर्धारित १० कामका क्षेत्रका किटान गरिएको लक्ष्यमध्ये आठवटा लक्ष्य पूरा भएको र एउटा पूरा हुने चरणको अन्तिम अवस्थामा रहेको बताए ।
वर्षात र बाढीको प्रकोपका कारण सिर्जित आपत्कालीन सडक तथा यातायात व्यस्थापनको कार्यमा लाग्नुपरेकाले सबै लक्ष्य पूरा गर्न कठिन भएको मन्त्री दाहालको भनाइ छ । वर्षा र बाढीका कारण क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि थप १५ अर्ब १६ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
ती संरचना निर्माणका लागि विभिन्न दातृसंस्था तथा निकायहरुसँग छलफल भइरहेको उनले बताए । तर, दातृनिकायको मात्र भर नपरी मन्त्रालयले आफ्नै स्रोतबाट भए पनि पुनर्निर्माण कार्य अघि बढाउने उनले जानकारी गराए ।
मन्त्रालयले यस सय दिनको अवधिमा सरकारले नीतिगत र कानुनी कार्यहरुलाई समेत प्राथमिकतामा राखेको मन्त्री दाहालले बताए । उनका अनुसार नीतिगत, सुशासन र कानुनी सुधारतर्फ सय दिनको अवधिमा ७ उपलब्धि प्राप्त भएका छन् ।
राष्ट्रिय सडक सुरक्षा विधेयकको अवधारणा पत्रमा सहमतिका लागि अर्थ मन्त्रालयमा पठाउने, डिप्लोमा इन्जिनियरिङ परिषद गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा राय सहमतिका लागि अर्थ मन्त्रालयमा पठाउनेलगायतका काम यस अवधिमा भएका छन् ।
यस्तै मन्त्रालयले गठन गरेको कार्यदलले ३ नीति, १० ऐन, १० नियमावली, १३ मापदण्ड, ४ निर्देशिका, ५ गुरुयोजना र ५ कार्यविधिलाई संशोधन वा नयाँ निर्माण गर्नुपर्ने गरी पहिचानसमेत गरेको जनाएको छ ।