• Menu

डेढ महिनाभित्रै पाइपलाइनबाट पेट्रोल आयात, प्रतिलिटर ३ रुपैयाँ जोगिन्छ ढुवानी लागत

नेपाल प्रफिट

२०८१ कात्तिक ८, ११:०७

डेढ महिनाभित्रै पाइपलाइनबाट पेट्रोल आयात, प्रतिलिटर ३ रुपैयाँ जोगिन्छ ढुवानी लागत
फाइल तस्बिर ।

पर्सा । नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी-अमलेखगन्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले असोज १७ गते ५ हजार ५ सय किलोलिटर पेट्रोल पाइपलाइनबाट ल्याएर प्राविधिक परीक्षण गरिरहेको छ ।

अमलेखगन्जस्थित निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यले मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको पूर्वाधार निर्माण पूरा भएसँगै परीक्षणको काम सुरु भएको जानकारी दिए ।

‘दोस्रो चरणअन्तर्गतका ठूला पूर्वाधार निर्माणका सबै काम पूरा भएका छन्,’ उनले भने, ‘असोज १७ गते पाइपलाइपबाट परीक्षणका लागि ५ हजार ५ सय किलोमिटर पेट्रोल ल्याएर जडान भएका उपकरणको प्रभावकारिताको परीक्षण गरिरहेका छौँ । सम्भवतः डेढ महिनाभित्रमा परीक्षण पूरा गरेर डिजेलजस्तै पेट्रोल पनि व्यावसायिक रुपमा पाइपलाइनबाटै ल्याइनेछ ।’

परियोजनाको दोस्रो चरणअन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुईवटा पेट्रोलका ट्यांकीलगायत पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । ‘निगमले दोस्रो चरणको परियोजनाअन्तर्गत निर्माण गरेका उपकरण तथा पूर्वाधारको प्राविधिक जाँचको कामलाई तीव्रता दिइरहेको छ । दोस्रो चरणअन्तर्गत जडान भएका पेट्रोलका ट्यांकी, मोटर, पम्प, पाइपलाइन, स्वचालित पेट्रोल भर्ने स्टेसनलगायत प्राविधिक पक्षको पनि परीक्षण भइरहेको छ,’ प्रमुख आचार्यले भने ।

निगमका अनुसार पेट्रोल पाइप लाइनबाट ल्याएसँगै ढुवानी खर्चको लागत प्रतिलिटर तीन रुपैयाँका दरले एक अर्ब जोगिनेछ । ‘हाल पेट्रोल र मट्टितेल भारतको बरौनीबाट ट्यांकरमा ढुवानी गर्दै आएको छ,’ उनले भने, ‘पाइपलाइनबाट पेट्रोल ल्याउँदा ढुवानी खर्च र वातावरण प्रदूषण दुवै जोगिनेछ ।’ डिजेल भने पाइप लाइनबाटै आयात भइरहेको छ ।

निगमका अनुसार पम्पहाउस, अत्याधुनिक प्रयोगशाला, ‘फायरफाइटिङ सिस्टम’को स्तरोन्नति, ‘आयल वाटर स्प्रे’, ‘पीएमससीसी रुम’लगायत पूर्वाधार निर्माण भएका छन् । अमलेखगन्जमा निगम र भारतीय पक्षले विभिन्न पूर्वाधार निर्माणको जिम्मेवारी पाएको थिए ।

निगमले दोस्रो परियोजना कार्यान्वयनका लागि एक अर्ब ५४ करोड भारु खर्चिएर चार हजार एक सय किलोलिटर क्षमताको पेट्रोलको ट्यांक, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति र २४ वटा पूर्णरूपमा स्वचालित पेट्रोल भर्ने स्टेसन निर्माणको काम अघि सारेको थियो ।

इन्डियन आयल कर्पोरेसन लिमिटेडले पनि ६० करोड भारु खर्चिएर चार हजार एक सय किलोलिटर क्षमताको ट्यांक, दुई सय ५० किलोलिटर क्षमताको दुईवटा ट्रान्समिक्स ट्यांक, तीन हजार किलोलिटर क्षमताको दुईवटा फायरवाटर ट्याङ्क निर्माणको जिम्मेवारी लिएको थियो ।

सन् २०१५ मा पाइप लाइन विस्तारका लागि पहिलो र दोस्रो चरणमा गरेर २ अर्ब ७५ करोड भारु लाग्ने अनुमान गरिएको थियो । सो योजनाअनुसार पहिलो चरणमा भारतीय पक्षले २ अर्ब भारु र दोस्रो चरणमा नेपालको तर्फबाट ७५ करोड भारु खर्च गर्ने योजनो थियो ।

पहिलो चरणको पूर्वाधार निर्माणमा योजनामा भारतको तर्फबाट दुई अर्ब भारु खर्च भए पनि दोस्रो चरणको काम तत्कालै सुरु हुन सकेन । दोस्रो चरणको पाइप लाइन विस्तारको लागत बढेर भारु एक अर्ब ५४ करोड पुगेको छ । पहिलो चरणको काम सम्पन्न भई २०७६ साल भदौ २५ देखि पाइप लाइनबाट डिजेल आयात भइरहेको निगमले छ ।