• Menu

कमजोर व्यापार

तीन महिनामा ३ खर्ब ९० अर्बको आयात हुँदा जम्मा ३८ अर्बको निर्यात

नेपाल प्रफिट

२०८१ कात्तिक ७, बुधबार १५:१०

तीन महिनामा ३ खर्ब ९० अर्बको आयात हुँदा जम्मा ३८ अर्बको निर्यात

काठमाडौं । वैदेशिक व्यापारमा निर्यात व्यापारको हिस्सा झन् खुम्चिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा निर्यात व्यापार ६.११ प्रतिशतले घटेको हो ।

गत आवको साउनदेखि असोजसम्ममा ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँबराबरको निर्यात गरेको नेपालले चालु आवको सोही अवधिमा ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँबराबरको मात्र निर्यात गरेको छ ।

समीक्षा अवधिमा आयात व्यापार पनि घटेको छ । गत वर्ष तीन महिनामा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँबराबरको आयात भएकोमा चालु आवको सोही अवधिमा ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँबराबरको आयात भएको छ । तीन महिनामा आयात गत वर्षको सोही अवधिको तुलनामा ४.१७ प्रतिशतले घटेको हो ।

आयात–निर्यात दुवै घट्दा समग्र वैदेशिक व्यापार नै नकारात्मक बनेको छ । गत वर्षको पहिलो तीन महिनामा ४ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएकोमा चालु आवको सोही अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको भन्सार विभागले जनाएको छ । वैदेशिक व्यापार ४.३५ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा नेपालले ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ । वैदेशिक व्यापार घट्दा व्यापार घाटा पनि गत वर्षको तुलनामा ३.९६ प्रतिशतले घटेको छ । गत वर्ष नेपालले ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको थियो ।

लामो समयदेखि आन्तरिक अर्थतन्त्र चलायमान हुन नसक्दा उत्पादन तथा व्यापार सुस्त छ । त्यसको असर वैदेशिक व्यापारमा मात्र नभएर समग्र अर्थतन्त्रमा नै परेको छ ।