बागलुङ । बागलुङ कालिका मन्दिरमा बडादसैँमा ४५ लाख भेटी संकलन भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले असोजमा ४५ लाख २७ हजार भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ ।
बडा दसैँ र चैते दसैँमा कालिका मन्दिरमा सबैभन्दा बढी भेटी संकलन हुने गरेको छ । दसैँमा मात्रै वर्षभरी हुने भेटीमध्ये ६० प्रतिशत संकलन भएको गुठीका अध्यक्ष कुमार खड्काले बताए ।
असोजमा भेटीमार्फत २२ लाख ८० हजार, परेवा बिक्रीबाट ११ लाख ३६ हजार दुई सय ५०, सटर भाडा ३ लाख ८५ हजार, बोकाको बली शुल्कबाट ४ लाख ४ हजार, चामल बिक्रीबाट ९६ हजार संकलन भएको छ ।
साथै कुखुरा बली शुल्कबाट ३० हजार ८, राँगा बलीबाट १८ हजार ४ सय, विवाह शुल्क १० हजार ५ सय, आर्थिक सहयोग एक लाख ४७ हजार ८ सय ७१, पण्डितबाट प्राप्त शुल्क १६ हजार ४ सय र व्रतबन्धबाट ३ सय आम्दानी भएको समितिका अध्यक्ष खड्काले जानकारी दिए ।
साथै असोजमा विभिन्न शीर्षकमा १३ लाख ९० हजार खर्च भएको जनाइएको छ । खड्काले दिएको जानकारीअनुसार तलब, पूर्वाधार, कर्मचारी सुविधा, पानी, विद्युत लगायत उक्त रकम खर्च भएको छ ।
चाडवाडको समयमा कालिका मन्दिर दर्शन गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । दसैँमा मात्रै चार लाख दर्शनार्थी मन्दिर दर्शनका लागि आएको गुठीको तथ्यांक रहेको छ । गत चैते दसैँमा पनि ४० लाख भेटी संकलन भएको थियो ।