• Menu

माओवादीले काठमाडौंमा खबरदारी सभा गर्ने, ‘सरकारका गलत कदम’को विरोध मुख्य एजेन्डा

नेपाल प्रफिट

२०८१ कात्तिक ६, १०:३६

माओवादीले काठमाडौंमा खबरदारी सभा गर्ने, ‘सरकारका गलत कदम’को विरोध मुख्य एजेन्डा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकमा पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराएका छन् । उनले खबरदारी सभाको तयारीमा जुट्न सबै कमिटीलाई निर्देशन पनि दिए ।

माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुन:स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ ।

जनप्रदर्शन र खबरदारीसभाका थप एजेन्डा तय गर्न पेरिसडाँडामा बैठक जारी छ ।