सप्तरी । सताइस वर्षदेखि खानेपानी निर्माणको योजना अधुरै रहँदा यहाँका नागरिक शुद्ध खानेपानीबाट बञ्चित भएका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-७ स्थित हनुमानगर बजारमा २७ वर्ष अगाडि नै निर्माण सुरु गरीएको खानेपानी आयोजना अहिलेसम्म पनि पूरा हुन सकेको छैन ।
स्थानीय स्वास्थ्यचौकी परिसरमा २०५४ सालमा निर्माण थालिएको खानेपानी योजना हालसम्म पिउने पानी योग्य बन्न नसकेको स्थानीयले बताएका छन् । तत्कालीन हनुमानगर गाउँ विकास समितिको पहलमा आयोजना सुरु गरिएको थियो ।
हनुमाननगर कंकालिनी नगरपालिका-७ का अमन यादवले खानेपानी आयोजना पूरा नहुँदा करिब दश हजार जनता प्रभावित भएको बताए ।
हनुमाननगर कंकालिनी नगरपालिकाले पनि यसप्रति कहिले पनि चासो नदिएको नेपाली कांग्रेरसका प्रदेश सचिवसमेत रहेका बेचन खडकाले बताए । स्थानीय राजेन्द्र मिश्रले खानेपानी ट्यांकी निर्माण ७५ प्रतिशत भए पनि राजनीतिक खिचातानीले काम पूरा हुन नसकेको जनाए ।
‘पानी ट्यांकी निर्माण गरी पाइपलाइन विच्छ्याउने काम अधुरै छ, नगरवासी ट्युवेलको आइरनयुक्त पानी खान बाध्य छन्,’ उनले भने । आयोजना तीन करोडको लागतमा निर्माण सुरु भएको थियो ।
आयोजनाको काम अधुरै भएपछि दोस्रो पटक २०७४ सालमा बोलपत्र आह्वान गरिएको थियो । तत्कालीन समयमा शान्ति निर्माण सेवा फर्सेठले निर्माणको जिम्मा पाएको थियो । फर्सेठका सञ्चालक नारायण यादवले आफूहरुले १३ लाख भुक्तनी नपाएपछि काम रोकिएको बताए ।
कोशीको तटीय क्षेत्रमा पर्ने हनुमाननगर कंकालिनी नगरपालिकामा १४ वटा वडा छन् । नगरपालिका उत्तरमा पूर्व-पश्चिम राजमार्गसँग जोडिएको छ भने दक्षिणतर्फ भारतीय सिमानासम्म फैलिएको छ ।