• Menu

भन्सार छलेर भित्र्याइएका १८ लाख भन्दा बढीको सामान बरामद

नेपाल प्रफिट

२०८१ कात्तिक ५, ११:३५

भन्सार छलेर भित्र्याइएका १८ लाख भन्दा बढीको सामान बरामद

पर्सा । सशस्त्र प्रहरी बलले आइतबार पर्साका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याएको १८ लाख ५० हजार मूल्यका लत्ताकपडासहित किरानाका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले आइतबार वीरगन्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार छली गरेर ल्याएको १४ लाख ६० हजार मूल्य पर्ने किराना सामान, कपडा, कस्मेटिक, मोटरपार्टस्, मोबाइल एसेसोरिज, इलेक्ट्रोनिक्स तथा मेडिकलका सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेले सशस्त्र प्रहरीको सक्रियता बढाएसँगै भन्सार छली गरेर ल्याएका सामान पक्राउ पर्ने क्रम बढेको बताए । उनले भन्सार छली गरेर बरामद भएको सामानलाई वीरगञ्ज भन्सार कार्यालयमा आवश्यक प्रक्रिया पुर्‍याएर बुझाएको जानकारी दिए ।

सशस्त्र प्रहरीले आइतबार नै ड्राइपोर्टबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–२५ स्थित चण्डालबाट भन्सार छली गरेर ल्याएको एक लाख ६९ हजार मूल्य पर्ने जुत्ता, कपडा र किराना सामान बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ ।

यसैगरी गत शनिबार प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१९ बर्वास्थित २ लाख २८ हजार मूल्य पर्ने किनाराका सामान, इलेक्ट्रिक सामान, मोटर पार्टस्, कपडा तथा खेलौनाका सामान बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको छ ।