• Menu

वीरगन्ज भन्सार : तीन महिनामा ३८ अर्ब भन्दाबढी राजस्व संकलन

नेपाल प्रफिट

२०८१ कात्तिक ४, ११:३१

वीरगन्ज भन्सार : तीन महिनामा ३८ अर्ब भन्दाबढी राजस्व संकलन

पर्सा । वीरगन्ज भन्सार कार्यालय राजस्व संकलनको लक्ष्य हासिल गर्नेतर्फ दत्तचित्त भएर लागेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा ३८ अर्ब ८८ करोड २७ लाख ५० हजार राजस्व संकलन गरेको छ ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले तीन महिनामा राजस्व संकलनमा केही वृद्धि भए पनि लक्ष्य हासिल गर्न नसकिएको बताए । ‘साउनयता मासिक लक्ष्यअनुसार राजस्व संकलनमा केही वृद्धि भइरहेको छ,’ उनले भने । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने करिब ३ करोड बढी राजस्व संकलन भएको छ ।

भन्सार कार्यालयले गत आव २०८०/८१ को तीन महिनाको अवधिमा भने ३८ अर्ब ८५ करोड ५० लाख ९३ हजार राजस्व संकलन गरेको थियो । कार्यालयले चालु आवको साउनमा मासिक लक्ष्यको ७२ प्रतिशत अर्थात् १२ अर्ब १६ करोड ३२ लाख राजस्व संकलन गर्यो । दोस्रो महिना भदौमा भने मासिक लक्ष्यको ७१ प्रतिशत अर्थात् १३ अर्ब २३ करोड ९८ लाख राजस्व संकलन गरेको छ । चालु आवको तेस्रो महिना असोजमा मासिक लक्ष्यको ७७ प्रतिशत अर्थात् १३ अर्ब ४७ करोड ९६ लाख राजस्व संकलन गरेको छ ।

भन्सार कार्यालयले गत आवको साउनमा भने मासिक लक्ष्यको ७५.९६ प्रतिशत अर्थात् ११ अर्ब ८६ करोड ८४ लाख राजस्व संकलन गरेको थियो । गत आवको दोस्रो महिनामा मासिक लक्ष्यको ६५.५९ प्रतिशत अर्थात् १२ अर्ब ७१ करोड २२ लाख राजस्व उठाएको थियो।

यसैगरी, गत आवको तेस्रो महिना असोजमा भने मासिक लक्ष्यको ६५.३५ प्रतिशत अर्थात् १४ अर्ब २७ करोड ४४ लाख राजस्व संकलन गरेको थियो ।