काठमाडौँ । नेपालले जारी शृंखलाको पहिलो टि-२० आईमा अमेरिकालाई पराजित गरेको छ । अमेरिकाकै डालसस्थित ग्रान्डप्रेरी रंगशालामा भएको खेलमा नेपाल १७ रनले विजयी भएको हो । एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रनमा समेटिएको छ ।
अमेरिकाका लागि सायन जहानगिरले सर्वाधिक ६० रनको योगदान दिए । उनले ३४ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । आन्द्रेस गौसले ३० रन बनाए भने मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनांक पटेल र आरोन जोन्स तीन–तीन र सैतेजा मुक्कामल्ला दुई रनमा आउट भएका थिए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए भने करण केसी, रिजन ढकाल र गुल्सन झाले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६४ रनको योगफल बनाएको थियो ।
कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका र एक छक्का प्रहार गरे । दीपेन्द्रले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन बनाए । आसिफ शेख र अनिल साहले समान २७–२७ रन बनाए भने गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडे ।
अमेरिकाका हरम्रित सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिए भने अली खान र नोष्थुश केङ्जिगेले एक–एक विकेट लिए । अमेरिका र नेपालबीच तीन ट्वान्टी २० खेल आयोजना हुनेछन् । त्यसपछि दुवै टोली आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा सहभागी हुनेछन् ।