• Menu

धौलागिरि आरोहणका क्रममा ज्यान गुमाएका ५ रसियनको शव काठमाडौँ ल्याइयो

नेपाल प्रफिट

२०८१ असोज ३०, बुधबार १५:३८

धौलागिरि आरोहणका क्रममा ज्यान गुमाएका ५ रसियनको शव काठमाडौँ ल्याइयो

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रसियन पर्वतारोहीको शव काठमाडौँ ल्याइएको छ । सात हजार एक सय मिटर उचाइमा उनीहरुको शव भेटिएको थियो ।

रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए । इटली आधार शिविरबाट शव काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको हो ।

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार ६ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण संकलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ता हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् ।

आईएम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ जना रसियाका पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुई जनाले सफल आरोहण गरेका छन् । सात पर्वतारोही बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।

यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमाल म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरदयाममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।