• Menu

थानकोटबाट ६ लाख ९६ हजार बराबरको भन्सार छलीका सामान नियन्त्रणमा

नेपाल प्रफिट

२०८१ भदौ ३१, ११:२१

थानकोटबाट ६ लाख ९६ हजार बराबरको भन्सार छलीका सामान नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीले ६ लाख ९६ हजार ५ सय बराबरको भन्सार राजस्व छलीका सामान नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका बाहिरबाट आउने यात्रुवाहक सार्वजनिक सवारीसाधनले विभिन्न किसिमका सामान बिनाकागजात बिलबिजक ल्याउने गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उक्त समग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘शनिबार कलंकी-नागढुंगा मूल सडकखण्डमा विभिन्न सवारीसाधनलाई जाँच गर्दा भिन्दाभिन्दै सवारीसाधनले बोकी ल्याएको सामानको धनी यकिन नभएको अवस्थामा उक्त सामग्री फेला पारी नियन्त्रणमा लिइएको हो ।’

बरामद गरिएका उक्त सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौँमा बुझाइएको प्रवक्ता अधिकारीले बताए । बरामद गरिएका सामानमा विभिन्न आइफोन, रेड्मी, सामसुङ तथा ओप्पो कम्पनीका मोबाइल २८ थान अन्दाजी मूल्य २ लाख, काजु २६ बाल्टिन र एक प्याक गरी २ सय ८० किलोको अन्दाजी मूल्य २ लाख ८० हजार रहेका छन् ।

यसैगरी खाने बदाम एक प्याक एक बोरा अन्दाजी २० किलो अन्दाजी मूल्य २० हजार, रोलको कपडा भएको बोरा ४ थान अन्दाजी ७ सय मिटरको अन्दाजी मूल्य एक लाख १८ हजार ५ सय, फोटो राख्ने फ्रेम भएको कार्टुन दुई थान एक ठूलो एक सानोको अन्दाजी मूल्य १० हजार तथा फेन्सी कपडा भएको बोरा ५ थान कुर्ता सरवाल सेट २ सय १३ थान, टप्स सेट ३६ थान, टप्समात्र २१ थानको अन्दाजी मूल्य ६८ हजार गरी जम्मा ६ लाख ९६ हजार ५ सय बराबरको रहेका प्रहरीले जनाएको छ ।