• Menu

झापामा अस्पतालको शौचालयबाट कैदी फरार

नेपाल प्रफिट

२०८१ भदौ ३०, १२:३९

झापामा अस्पतालको शौचालयबाट कैदी फरार

झापा । जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी आइतबार फरार भएका छन् । फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको छ । भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आइतबार बिहान उनी फरार भएका हुन् ।

त्यहाँ उपचाररत साहलाई आइतबार बिहान ३:४० बजे सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीको भनाइ छ । छातीमा समस्या भएपछि भद्रपुर नगरपालिका-५ घर भएका साहलाई यही भदौ २५ मा प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।

त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीको कमाण्डमा फरार कैदी साहको खोजी भइरहेको बताइएको छ ।

यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काइ फरार भएका थिए । फरार भएको ४ दिनपछि भदौ ८ मा उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए । फितलो सुरक्षा व्यवस्थापनको फाइदा उठाउँदै झापामा एकपछि अर्को यस्ता घटना घट्न थालेको बताइएको छ ।