• Menu

खर्दरियाका ३ सय परिवार किसान भैँसीपालनमा, दुध-दही बिक्री गरेर दैनिक २५ सयसम्म आम्दानी

नेपाल प्रफिट

२०८१ भदौ ३०, ११:३६

खर्दरियाका ३ सय परिवार किसान भैँसीपालनमा, दुध-दही बिक्री गरेर दैनिक २५ सयसम्म आम्दानी

दाङ । टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँभरका भैँसीपालक किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतीक्षामा थिए । करिब १५-१६ जनाको समूह देख्दा लमहीको अर्जनखोलावारि यात्रु प्रतीक्षालयमा बसेका यात्रु चढाउन बस चालकले रोकेनन् । ठाउँ छैन अरु बसमा आउनु भन्दै चालक पन्छिए । गाउँका धेरैजसो किसान आफूले उत्पादन गरेको दही बिक्री गर्न घोराही बजार आउँदाको भोगाइ हो यो ।

राजपुर गाउँपालिका-३ खर्दरियाका लक्ष्मण यादव ६० वर्षका भए । उनले व्यावसायिक रूपमा भैँसीपालन गर्दै आएका छन् । उनीसँग रहेका २५ भैँसीले दूध दिन्छन् । बाबुबाजेले भैँसीपालन गर्दै आएका थिए । त्यही रेखदेख गर्दागर्दै लक्ष्मण पनि भैँसीपालनलाई निरन्तरता दिँदै आएका छन् । २५ वटा भैँसीले दिएको दूध बिक्री गर्न समस्या हुने गरेको उनले बताए ।

खर्दरियामा यादव समुदायको झन्डै ३ सय घर छन् । हरेक किसानका घरमा १० देखि २० वटासम्म भैँसी छन् । उत्पादन भएको सबै दूध गाउँमा बिक्री गर्न सम्भव छैन । उनीहरुले बेलुकाको दूध जम्मा गरेर दही बनाउने र बजारमा बिक्री गर्ने गरेका छन् । ‘घोराही पुग्न एक सय भाडा लाग्छ । दैनिक २ हजारदेखि २ हजार ५ सयसम्म आम्दानी हुन्छ,’ यादवले भने ।

यस्तै राजपुर गाउँपालिका-३ खर्दरियाका झाबु यादव ५० वर्षका भए । उनीसँग एक सयवटा दूध दिने भैँसी छन् । राजपुरबाट घोराही, तुलसीपुर, लमहीमा दही बिक्री हुने गरेको छ । भैँसीको दूध-दही बिक्री गरेर उनले छोराछोरी पढाउँदै आएका छन् ।

‘गाउँमा सबैको घरमा भैँसी छन् । भैँसी नभएकाले पनि सस्तो मूल्यमा किन्न खोज्छन्, त्यसैले गाउँमा दही बिक्री गर्न मन लाग्दैन,’ यादवले भने, ‘राजपुरबाट दहीको भाँडो बोकेर दैनिक बजारमा आउने गरेका छौँ ।’

गाउँभरिका भैँसीपालक किसान दही बोकेर बिक्री गर्न बजार जाने गरेका छन् । गाउँघरमा प्रतिलिटर २०-२५ मा बिक्री हुने दही बजारमा पुर्‍यायो भने एक सयमा बिक्री हुन्छ । यसरी कमाएको पैसाले छोराछोरीको पढाइ खर्च र घर परिवारमा आइपर्ने आर्थिक समस्या पनि समाधान हुने गरेको यादव बताउँछन् ।

बिहानको दूध डेरीले लैजान्छन्, बेलुकाको दूध बिक्री गर्ने ठाउँ नहुँदा दही बनाएर बिक्री गर्ने गरेको उनले बताए । दूध राख्नलाई सरकारले डिप फ्रिजको सहयोग गरेमा दूध, दहीबाट आम्दानी गरेर जीविका चलाउन सकिने यादवले बताए । दूध ट्रयाक्टरको व्यवस्थापन गरेमा आफूहरूलाई राहत मिल्ने उनको धारणा छ ।

व्यावसायिक भैँसीपालनका लागि खरदरिया उपयुक्त स्थान मानिन्छ । यहाँका अधिकांश बासिन्दाले १० देखि एक सय वटासम्म भैँसीपालन गरेका छन् । भैँसीको दूध बिक्रीबाट आएको आम्दानीले छोराछोरी पढाउने र घरखर्च चलाउन सहज भएको छ ।

सोही ठाउँका भैँसीपालक किसानले गोठ सुधार, घाँस काट्नलाई चारामेसिन, बीउका लागि उन्नत जातको राँगा र दूध संकलनका लागि डेरीको माग गरेका छन् । परापूर्वकालदेखि भैँसीपालनबाट जीविका चलाउँदै आएका यादव समुदायले सरकारको सहयोग भएमा व्यवस्थित तरिकाले भैँसीपालन गर्ने सोच बनाएका छन् ।