• Menu

बागलुङमा जीप दुर्घटना, ३ जनाको मृत्यु

नेपाल प्रफिट

२०८१ भदौ २८, शुक्रबार १३:२२

बागलुङमा  जीप दुर्घटना, ३ जनाको मृत्यु

बागलुङ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार रा१झ २०० नं को सरकारी जीप शुक्रबार बिहान गलकोट–२ भुङ्खानीमा सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । ३ नै जनाको घट्नास्थलमै ज्यान गएको उनले बताए ।

घटनास्थलबाट १ घाइतेलाई उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल पठाइएको छ । रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काका अनुसार उक्त जीपमा पुथाउत्तरगंगा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार थिए । उपाध्यक्ष बुढा केही दिनअघि आमालाई लिएर काठमाडौँ गएको जानकारी पाइएको उनले बताए ।

दुर्घटनास्थलमा परिचयपत्र फेला परेपछि मात्र दुर्घटनामा उपाध्यक्ष बुढा परेको खुलेको थियो । बिहानै जीप दुर्घटनामा परे पनि स्थानीयले घाँस काट्न जाने बेला देखेपछि उनीहरुले स्थानीय प्रहरीलाई खबर गरेका थिए । जीपमा कति जना सवार थिए भन्ने यकिन नभएको सहायक खड्काले बताए ।