सुर्खेत । कर्णालीमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ । मंसिर २ देखि ९ सम्म हुने प्रतियोगिता तोकिएको समयमा हुन सक्ने वा नसक्ने भन्ने विषय आफैँमा पेचिलो बन्दै गएको छ । यसले पूर्वाधार निर्माण र व्यवस्थापनमा दबाब बढेको छ ।
दुई वर्षअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश कास्कीको पोखरामा भएको थियो । प्रतियोगिता सम्पन्न भएसँगै दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने जिम्मा कर्णालीले लिएर फर्केपछि त्यसका लागि प्रदेश गौरवको आयोजनाका रूपमा लिइएको वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतमा बन्दै गरेको रंगशालाको काम अन्तिम चरणमा पुगेको छ । रंगशाला १० हजार दर्शक बस्ने क्षमताको छ ।
तीन साताअघि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सुर्खेत पुगेर रंगशाला निर्माणको अवस्थालाई अवलोकन निरीक्षण गरी मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री घनश्याम भण्डारीसँगको बसाइमा प्रदेश सरकारको १५ दिनपछिको रिपोर्टिङबाट निर्धारित समयमा खेल हुने वा नहुने भन्ने निर्क्यौल निकालिने भनेर फर्किएका थिए । यद्यपि २४ दिन बितिसक्दा पनि प्रगतिबारे प्रदेश सरकारबाट रिपोर्टिङ भएको छैन ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री भण्डारीले खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माण तीव्र रूपले बढे पनि प्रतिकूल मौसमका कारण काममा ढिलाइ भएकाले प्रगतिबारे जानकारी गराउन नसकिएको बताए ।
‘रंगशाला वरिपरिको बाटो निर्माणका लागि असारमै ठेक्का लागेर काम सञ्चालन भइरहेको छ । विकट भूगोल छ तर १० वटै जिल्लाको बाटो प्रतिकूल मौसमले कतिबेला बिगार्ने हो । सधैँ ठीक हुन्छ भनेर सुनिश्चित गर्ने अवस्था छैन,’ उनले भने ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले दसौं राष्ट्रिय खेलकुद तोकिएको समयमा नगर्ने अवस्था नरहेको तर सरकारले चाहेमा निर्धारित समयमै हुनसक्ने बताए । तोकिएको समयमै दसौं राष्ट्रिय खेलकुद गर्न पूर्णरूपमा तयारी अवस्थामा रहेको उनले जिकिर गरे ।
प्रतियोगितालाई मध्यनजर गर्दै प्रदेश राजधानी सुर्खेतलगायत १० वटै जिल्लामा संरचना निर्माण भएका छन् । सदस्य सचिव सञ्ज्यालका अनुसार प्रतियोगिताका लागि कर्णाली प्रदेशमा २४ वटा खेल सञ्चालन गर्न सकिनेछ ।
भौतिक संरचना पनि तीव्र गतिमा निर्माण भइरहेका छन् । वीरेन्द्रनगरमा मुख्य रंगशाला, क्रिकेट मैदानलगायत संरचना पनि निर्माण भइरहेका छन् । पूर्वाधारका कारण खेलकुद सर्ने अवस्था नरहेको दाबी प्रदेश खेलकुद विकास परिषद् गरेको छ ।
परिषद्ले तोकिएकै समयमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सक्षम र प्रतिबद्ध रहेको दाबी गरे पनि समयमै नहुने हो कि भन्ने आशंका उब्जिएको छ । ‘प्रदेशले पाएको जिम्मेवारी पूर्वाधारको निर्माण र व्यवस्थापनको हो, जुन कुराको सम्पूर्ण तयारी हामीले गरेका छौँ,’ सदस्य सचिव सञ्ज्यालले भने ।
तोकिएकै समयमा प्रतियोगिता सञ्चालन गर्न सकिनेमा उनी ढुक्क छन् । ‘हामीले यो धेरैपटक भन्दै आएका छौँ । एक महिनाभित्र रंगशालाको सबै काम सकिन्छ । यद्यपि प्रतियोगिता सञ्चालनको अन्तिम निर्णय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले नै गर्ने हो । पूर्वाधारका कारण प्रतियोगिता रोक्नुपर्ने अवस्था छैन,’ उनले भने ।
तोकिएकै मितिमा प्रतियोगिता सम्पन्न गर्दा खेलकुद क्षेत्रमा आशा पलाउने र यसले तोकिएकै समयमा खेलकुद हुन्छ भन्ने संस्कृतिको विकास हुने उनको भनाइ छ । सदस्य सचिव सञ्ज्यालका अनुसार खेलकुद प्रतियोगिता तोकिएकै समयमा गर्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रचलन छ र नेपालमा पनि राष्ट्रिय खेलकुद नसार्ने प्रचलन स्थापित गर्दा भोलिका संस्करण समयमै गर्न सकिने हुन्छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले रंगशालाको भौतिक पूर्वाधार अवलोकन गर्दा एक महिनामै सम्पन्न हुने कुरामा शंका नभएको तर खेलाडीलाई खाने–बस्ने व्यवस्था मिलाउन चुनौतीपूर्ण देखिएको बताए ।
‘पूर्वाधारको चिन्ता अब हुँदैन । एक हजारभन्दा बढी खेलाडीको बसाल्ने क्षमता नदेखिएकाले जतिसक्दो छिटो बसोबासको प्रबन्ध मिल्नुपर्छ । हामीले तोकिएको समयमै खेलकुद प्रतियोगिता सम्पन्न गर्न सकेनौँ भने यो धेरै पर जान सक्छ,’ उनले भने ।
खेलाडीका लागि बजेटको व्यवस्था गर्नेतर्फ जोड दिइएको उनले बताए । मन्त्री चौधरीले बसोबास प्रबन्ध र पूर्वाधारका विषयमा प्रदेश सरकारबाट परिपत्र हुने त्यसका आधारमा प्रतियोगिता सञ्चालनको मितिका लागि निर्णय लिने जनाए ।
फेरि केही दिनपछि सुर्खेत पुगेर खेल सञ्चालन हुने सबै जिल्लाको पूर्वाधार अवस्था र अन्य व्यवस्थाका विषयमा जानकारी लिएर प्रतियोगिता सञ्चालनको मिति सुनिश्चित गर्ने उनको भनाइ छ । हुम्लामा हुने हक्की खेलमा खेलाडीका लागि आउने स्वास्थ्य समस्याका बारेमा बुझेरमात्र सञ्चालनको व्यवस्था मिलाइने उनले बताए ।
परिषद्का अनुसार दसौं राष्ट्रिय खेलकुद सञ्चालनका लागि प्रदेशभरमा १३ वटा ‘इन्डोर’ हल छन् । ती हलमा १४ वटा खेल खेलाउन सकिन्छ र बाँकी १० वटा ‘आउटडोर फिल्ड’ पनि भएकाले २४ वटा खेल खेलाउन सकिने पूर्वाधार यथेष्ट छन् । एउटा एथलेटिक्स खेलको ट्रयाकमा सिन्थेटिक लाग्न र एउटा इन्डोर हलको छाना छाउन बाँकी छ । २४ वटा खेलका हामीसँग खेलाडी पनि छन् ।
हुम्लामा हकी मैदान छ । मुगुमा कबड्डीको संरचना छ । जुम्ला र दैलेखमा इन्डोर हल, कालिकोटमा कभर्ड हल छ । रुकुम पश्चिममा पनि हल छ । सल्यानमा टेबल टेनिसको हल छ । जाजरकोटमा पनि कुनै न कुनै खेल खेलाउन सकिन्छ । जहाँ पूर्वाधार छ, त्यहाँ खेल आयोजनाका साथै बसोबासको व्यवस्था गर्न सकिन्छ ।
सुर्खेतभन्दा बाहिरका जिल्लामा पनि लैजाँदा यसले आम कर्णालीले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताप्रतिको अपनत्व लिन सक्ने जनाइएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal