तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका–६ मा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत ३ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेश सरकारबाट २ र संघीय सरकारबाट १ वटा खानेपानी आयोजना सम्पन्न भएको हो ।
उक्त आयोजनाबाट ६४ परिवार प्रत्यक्ष लाभान्वित भएका बन्दीपुर–६ का वडाध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए । गण्डकी प्रदेशले खहरे गाउँपाखोमा ६० लाख, खहरे थुमथुमेमा ९ लाख र संघीय सरकारले १० लाखमा खहरे झपार्दी खानेपानी आयोजनामार्फत एक घर, एक धारा जडान गरेको हो ।
आर्थिक वर्ष २०८०/८१ को अन्त्यभित्र योजना सम्पन्न गरी घरघरमा पानी पुर्याइएको खहरे गाउँपाखो खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार योजना सम्पन्न पश्चात् वर्षैँदेखि पाँखाको तातो, नमिठो र चुनायुक्त पानी पिउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
‘चुनाका कारण कतिपय अवस्थामा पानीको पाइप जाम हुने समस्या खेप्नुपरेको थियो,’ गुरुङले भने, ‘करीब २ महिनाको अवधिमा आयोजना सम्पन्न गरी पानी नियमित सञ्चालन गरेका छौँ ।’ ३ मध्ये ठूलो आयोजनाका रुपमा रहेको खहरे गाउँपाखोका लागि छिमेकी देवघाट–३ नाल्बुङबाट पानी ल्याएर वितरण गरिएको उनले जानकारी दिए ।
लामो समयदेखि खानेपानीको समस्या खेप्दै आएका वडाबासीले स्वच्छ पानी पिउन पाउँदा खुशी व्यक्त गरेका छन् । अहिले घरघरमा धारा जडान गरेपछि गाग्री बोकेर पानी लिन जानुपर्ने समस्या हटेको झपार्दी खानेपानी उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर थापाले बताए ।