• Menu

सन्तानलाई आन्दोलनमा लगाउने बुबाआमा परिवर्तनका संवाहक : प्रचण्ड

नेपाल प्रफिट

२०८१ भदौ २७, ११:४०

सन्तानलाई आन्दोलनमा लगाउने बुबाआमा परिवर्तनका संवाहक : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुबाआमा परिवर्तनका संवाहक भएको बताएका छन् ।

चन्द्रागिरी नगरपालिका १४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा उनले त्यस्ता बुबाआमालाई सधैं समाजले सम्झिरहने बताए ।

सन्तानलाई हुर्काउन, बढाउन र पढाउन संघर्ष गर्दै आफूलाई बामपन्थी रुझानबाट अघि बढाउँदै पाँच छोरा, पाँच बुहारी र चार छोरीलाई राजनीति सामाजिक आन्दोलनमा लाग्न प्रेरित गर्ने बुद्धराम प्रेरणाको स्रोत भएको उनले उल्लेख गरे । अध्यक्ष प्रचण्डले २०४५ सालदेखि बिरामी अवस्थामा रहेका बुवाको सम्मानपूर्वक स्याहारसुसार गर्ने परिवार पनि उत्तिकै उदाहरणीय भएको बताए ।

धेरै कठिनाइका बीचबाट पनि दुलालले सामाजिक क्षेत्र, बामपन्थी झुकाव हुँदै कम्युनिस्ट आन्दोलनमा गरेको योगदानको चर्चा गर्दै उनले यस्ता विशिष्ठ व्यक्तित्व सधै समाजको अग्रस्थानमा रहने धारणा राखे ।

जुत्ता सिलाउने पेसा अंगालेका बुद्धरामले समाज रुपान्तरणमा गरेको योगदानले सचेत श्रमजीवी वर्गको यथार्थ प्रतिनिधित्व गर्ने उनले उल्लेख गरे । उनले यसबाट सचेत श्रमजीवी वर्ग नै सामाजिक रुपान्तरणका अगुवा हुनसक्छन् भन्ने थप पुष्टि भएको बताए ।

नेपाली समाज रुपान्तरणका लागि बुद्धरामजस्ता थुप्रै अगुवाले गरेको योगदानका कारण अहिले मुलुकमा समानतायुक्त राजनीति व्यवस्था स्थापना भएको उनले चर्चा गरे । प्राप्त उपलब्धिको उपभोग, रक्षा र विकासमा पनि उत्पीडित समुदायले बढी नै ध्यान दिनुपर्ने प्रचण्डले बताए ।

दिवंगत बुद्धराम दुलालको जीवनीबारे उनका जेठा छोरा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शंकर दुलालले प्रकाश पारेका थिए । उनले पञ्चायतकालमै वाम अन्दोलनको समर्थनमा लागेका बुबाकै प्रेरणाका कारण आफ्नो परिवारले राजनीतिक तथा सामाजिक आन्दोलनमा लाग्ने अवसर प्राप्त गरेको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटालगायत ठूलो संख्यामा नेता कार्यकर्ताको उपस्थिति थियो ।