काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैँ लागिपर्ने बताएकी छन् ।
सुदूरपश्चिमाञ्चल सरोकार मञ्चका प्रतिनिधिसँगको भेटमा बुधबार उनले लामो समयदेखि सो क्षेत्रका नागरिकको प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व, महिला अधिकारलगायतका क्षेत्रमा काम गर्दै आएको स्मरण गरिन् ।
कुनै सरकारी पदमा हुँदा या नहुँदा पनि यो क्षेत्रको विकास गरी त्यहाँका नागरिकको जीवनस्तरमा सुधार ल्याउने गरी काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् ।
नेपालमा आत्महत्या गर्ने व्यक्तिको संख्या बढ्दै गएको र आत्महत्याको दर अन्यत्रको तुलनामा सुदूरपश्चिममा धेरै रहेको तथ्य बाहिर आएकाले यो अवस्थाको निराकरणका लागि काम गर्न पनि उनले मञ्चलाई आग्रह गरिन् ।
‘अहिले आत्महत्या गर्नेमा १५ प्रतिशत जति २० वर्ष मुनिका युवायुवती रहेका तथ्य बाहिर आएको छ । यो निकै गम्भीर अवस्था हो । सुदूरपश्चिमको अवस्था झन् खराब देखिन्छ,’ उनले भनिन्, ‘अब हरेक पालिका तथा वडास्तरमै परामर्श केन्द्र राखेर हुन्छ या कसरी हुन्छ मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्नुपर्छ ।’
परराष्ट्रमन्त्री राणाले सुदूरपश्चिम क्षेत्रको विकासका पक्षमा त्यहाँका केही स्थानीय परियोजना तथा नाकाका विषयमा भारत भ्रमणका क्रममा भारतीय उच्च सरकारी तहसम्म कुरा उठाएकामा प्रतिनिधि मण्डलले धन्यवाद दिएको छ ।
उनीहरुले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयनका लागि थप लागिपर्न आग्रह गरेका छन् । मन्त्री राणाले भारत भ्रमणका क्रममा गौरीफन्टा नाका पूर्ण क्षमताका साथ सञ्चालन गर्नेगरी स्तरोन्नति तथा धनगढीको फाप्लामा निर्माण हुने बहुउद्देश्यीय खेलमैदानका विषयमा पनि कुरा उठाएकी थिइन् ।
गौरीफन्टा तथा गड्डाचौकी नाकाबाट आहोरदोहोर गर्नेक्रममा नेपालीलाई भारत तर्फबाट धरपकड हुने गरेको गुनासो गर्दै त्यहाँ सुरक्षा र थप व्यवस्थापनका लागि उनीहरुले आग्रह गरेका छन् ।
त्यस क्रममा मन्त्री राणाले नेपालले आफ्ना छिमेकी देशतर्फका सिमानाका एवं सीमा सुरक्षा चौकीलाई थप व्यवस्थित बनाउने विषयमा आफूले पहल गर्ने बताइन् ।