कास्की । पोखरा विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो, त्यहीँमाथि पर्यटकीय राजधानीको उपमा पाएको छ । पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को मुख्य पर्यटकीय याम असोजदेखि सुरु हुँदैछ ।
नेपालमा असोज-मंसिर र चैत-जेठलाई मुख्य पर्यटकीय यामका रुपमा लिइन्छ । यी दुई याममा पोखरालगायत देशभरका पर्यटकीय गन्तव्य स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्छ ।
नेपाल भित्रिने विदेशी पर्यटकमध्ये झन्डै आधासहित लाखौँ आन्तरिक पर्यटकको रोजाइमा पर्ने पोखरामा आउँदो पर्यटकीय याममा थप पर्यटक भित्राउने योजना के छन् त ? पर्यटकीय राजधानी हुनुले पोखरामा हुने पर्यटकको आवागमनमा यसपालि वृद्धि होला त ?
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भन्छन्, ‘प्रवर्धनात्मक कार्यक्रममा हामी बढी केन्द्रित छौँ, पर्यटकीय राजधानी घोषणालगत्तै होटलमा छुट अफरसहित विभिन्न प्याकेज सार्वजनिक गरेका थियौँ ।’
‘अफ सिजन’मा पोखराका होटलले ५० प्रतिशतसम्म छुट दिने गरेको उनले बताए । ‘अहिलेको वर्षायाममा पर्यटक आगमन ज्यादै न्यून रह्यो, आन्तरिक पर्यटक पनि पोखरा–मुग्लिङ राजमार्गको नाजुक अवस्थाका कारण आउन चाहेनन्,’ उनले भने, ‘अब असोज लागेपछि पर्यटक आवागमन बढ्छ, पदयात्राका लागि आउने विदेशी पर्यटक पनि यही याममा बढी आउँछन् ।’
आन्तरिक पर्यटकलाई पोखरा भित्र्याउन देशका विभिन्न सहरमा ‘जाऔँ है पोखरा’ कार्यक्रम सञ्चालन गर्ने गरिएको उनले बताए । भारतीय बजारलाई लक्षित गरी ‘चलिए पोखरा’ र चीनमा पनि सोही प्रकृतिको प्रवर्धनात्मक कार्यक्रम बर्सेनि हुँदै आएको छ ।
‘पोखरामा धेरैभन्दा धेरै पर्यटक कसरी भित्र्याउन सकिन्छ भनेर होटल संघलगायत पर्यटन सम्बद्ध संघसंस्था लागि परेका छन्,’ संघका अध्यक्ष सुवेदीले भने, ‘पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा पोखराको पर्यटन विकासमा राज्यका निकायले पनि विशेष ध्यान दिनुपर्छ, पूर्वाधारमा लगानी बढाउनुपर्छ ।’
लामो प्रयास र बहसपछि चैत ४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरेका थिए । घोषणाका क्रममा उनले पोखरा प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय संगमका रुपमा रहेको उल्लेख गरेका थिए ।
प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका पर्यटन शाखा प्रमुख डम्बर जीसीले पर्यटन पूर्वाधार र प्रवर्धनका कार्यक्रम भइरहेको बताए । पोखरालगायत यस क्षेत्रका गन्तव्य स्थलको वृत्तचित्र र प्रचार सामग्री तयार पारी प्रकाशन/प्रसारण गरिएको उनको भनाइ छ ।
‘आउँदो पर्यटकीय यामलाई लक्षित गरी पोखरामा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने सोच मन्त्रालयले बनाएको छ, अन्य प्रवर्धनात्मक कार्यक्रम पनि तय गरिएको छ,’ उनले भने, ‘पोखराको नयाँ गन्तव्यका रुपमा विकास भइरहेको राउन्ड फेवा–भ्यू फेवा ट्रेकिङ ट्रेलको काम आधा सकिएको छ, यो वर्ष थप ५० लाख बजेट उक्त योजना छ ।’
प्रदेश सरकारले बेगनास तालमा क्रुज सिप सञ्चालनको योजना पनि अगाडि बढाएको उनले बताए । प्रदेश सरकारले आधुनिक बसपार्क निर्माण, विमानस्थलदेखि पृथ्वीचोकसम्म सटल बस सेवा, ध्यान केन्दल निर्माणलगायत पर्यटनलक्षित योजना घोषणा गरेको छ ।
पर्यटन व्यवसायी एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकीय राजधानीका रुपमा विश्व पर्यटन बजारमा पोखराको थप ‘ब्रान्डिङ’ भइरहेको बताए ।
‘पोखरा यसै पनि पूर्वाधार सम्पन्न पर्यटन गन्तव्य हो, पर्यटकीय राजधानी घोषणाले पोखराको समग्र विकासमा थप मद्दत पुग्छ, तीनै तहका सरकारको वार्षिक बजेट तथा कार्यक्रममा प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘यो घोषणाले पोखरामात्रै नभएर सिङ्गो देशकै आर्थिक समृद्धिमा दूरगामी महत्व राख्छ ।’
पोखरामा उल्लेख्य संख्यामा विदेशी पर्यटक भित्र्याउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान र चीनसँगको कोरला नाका नियमित सञ्चालन गर्नुपर्ने उनले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष बित्न लाग्दासमेत अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
पर्यटन व्यवसायी श्रेष्ठका अनुसार पोखराको पर्यटनमा झन्डै ६ खर्ब रुपैयाँको लगानी छ । साधारणदेखि पाँच तारेसम्म गरी झन्डै १२ सय होटल पोखरामा छन् । बहुआयामिक विशेषता र सम्भावनाले भरिएको पर्यटकीय राजधानी पोखराको समग्र विकासमा सरकार र निजी क्षेत्रबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्ने उनको भनाइ छ ।
पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास र विविधीकरण, मापदण्ड, सेवाको गुणस्तरलगायत २० सूचकमा टेकेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो । घोषणापछि पोखराको पर्यटन विकासमा तीन वर्षे, पाँच वर्षे र दीर्घकालीन योजना तय गरिएको छ ।
अल्पकालीन रणनीतिअन्तर्गत पूर्वाधार विकास तथा विस्तार, सांस्कृतिक सम्पदाको प्रवद्र्धन र ‘ब्रान्डिङ’ तथा बजारीकरणमा जोड दिइएको छ । मध्यमकालीन रणनीतिमा विशिष्टीकृत पर्यटन विकास, बसोबासका विकल्पको विविधीकरण र व्यावसायिक जनशक्तिको उपलब्धतालाई समेटिएको छ ।
दिगोपना, समावेशीता, विद्युतीय पर्यटनलगायत विषय दीर्घकालीन रणनीतिमा उल्लेख छन् । पर्यटनको राजधानी घोषणा गरेरमात्र नहुने पर्यटन विज्ञहरुले बताउँदै आएका छन् । पूर्वाधार, सेवाको गुणस्तर, दक्ष जनशक्ति र लगानी विस्तारमा सम्बद्ध पक्षको ध्यान जान जरुरी रहेको उनीहरुको सुझाव छ ।
के हुन् पोखराका आकर्षण ?
पोखरा हिमाल र तालतलैयाको सहरले चिनिन्छ । हिमशृंखलाको अवलोकन, डुंगा सयर, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायतको पदयात्रा, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, बन्जी जम्प, केबुलकार, चरा अवलोकन, विभिन्न सांस्कृतिक मेला, महोत्सवलगायत पोखराका पर्यटकीय गतिविधिमा पर्छन् । फेवा, बेगनास, रुपालगायत मनमोहक ताल यहीँ छन् ।
प्राकृतिक, भौगोलिक र साँस्कृतिक विविधतायुक्त सौन्दर्यले पोखरा सुसज्जित छ । प्राचिन कला, सभ्यता र साँस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ पोखरा । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका साँस्कृतिक धरोहर हुन् । साहसिक पर्यटन गतिविधिमा पनि पोखराको नाम अघि आउँछ ।
पर्यटक स्तरका पाँच सयभन्दा बढी सुविधायुक्त होटल, पोखरा वरपरका डाँडाकाँडामा रिसोर्ट, घरबास (होमस्टे), सुविधायुक्त रेस्टुराँ, कफी सप, बार, लाउन्ज बार, सभा–सेमिनारका लागि सभाकक्ष र प्रदर्शनीस्थल पोखरामा छन् । हवाई र सडक दुवै मार्गबाट सहज रुपमा पोखरा आउजाउ गर्न सकिने सुविधा छ ।
पर्यटकको सहजताका लागि पर्यटक बस, ट्याक्सीलगायतको यातायात सेवा पोखरामा उपलब्ध छ । पर्वतारोहण र पदयात्रामा निस्कने पर्यटकका लागि चाहिने उपकरण, पोशाक आदि किनमेलका लागि पसल र डिपार्टमेन्टल स्टोर पनि पर्याप्त छन् ।
बैंक, एटीएम सेवा, विदेशी मुद्रा सटहीका लागि काउन्टर उपलब्ध छन् । संकटमा परेका पर्यटकको उद्धार र राहतका लागि हेलिकप्टर सेवासहित स्तरीय अस्पताल पोखरामै सञ्चालित छन् ।
पर्यटकको सेवाका लागि सञ्चालित ट्राभल्स एजेन्सी, ट्रेकिङ एजेन्सीलगायत व्यावसायिक संगठन क्रियाशील छन् । पर्यटन क्षेत्र हेर्ने राज्यका निकाय पनि पोखरामै केन्द्रित छन् । प्रदेश सरकारमा छुट्टै विभागीय मन्त्रालय छ । नेपाल भित्रिने विदेशी पर्यटकमध्ये झन्डै आधा पर्यटकले पोखरा घुम्ने गरेको सरकारी तथ्यांकले देखाउँछ ।
आन्तरिक पर्यटनको पनि ठूलो हिस्सा पोखराले ओगट्छ । बर्सेनि करिब १० लाख आन्तरिक पर्यटकले पोखरा घुम्ने गरेको अनुमान छ । फ्रान्सेली नागरिक मौरिस हर्जगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा बामे सरेको पोखरा ७५ वर्षको दौरानमा पर्यटकीय राजधानी बन्न सफल भएको छ ।
प्रदेश राजधानीसमेत रहेको पोखरा आउँदा आसपासका जिल्लामा रहेका गन्तव्यमा समेत पुग्न सकिन्छ । पोखरामा फेवाताल, बेगनास ताल, रुपाताललगायत गरी विश्व रामसार सूचीमा सूचीकृत नौ ताल छन् ।
पोखरा आउने पर्यटक तालतलैया, हरिया डाँडाकाँडा र हिमाल देखेर लोभिन्छन् । हिमशृङ्खला, अन्नपूर्ण आधार शिविर, पातले छाँगो, विश्व शान्ति स्तुपा, महेन्द्र गुफा, विन्ध्यवासिनी मन्दिर आदि कास्कीका प्रमुख पर्यटकीय गन्तव्य हुन् ।
पोखरादेखि दुई घण्टाको दूरीमा पर्ने बागलुङका गन्तव्यस्थल पनि पर्यटकको रोजाइमा पर्ने गरेका छन् । त्यहाँ कालिका भगवती मन्दिर, ढोरपाटन सिकार आरक्ष, विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट, शालिग्राम संग्रहालय, घुम्टेको लेक, गलकोट दरबार, गाईघाट झरना, भैरवस्थान मन्दिर, भकुण्डे, गाजाको दहलगायत छन् ।
तिलिचो ताल, अन्नपूर्ण पदमार्ग जस्ता प्राकृतिक सम्पदा, हिमाली जनजीवन र संस्कृतिका कारण मनाङ पर्यटकको रोजाइमा पर्छ । हिमालपारिको जिल्ला मुस्ताङमा प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ, दामोदर कुण्ड, लोमान्थाङ दरबार, प्राचिन गुफा, कलाकृति, ढुम्बा ताल, कागबेनीलगायत चर्चित गन्तव्य स्थल छन् ।
म्याग्दी पनि प्राकृतिक पर्यटनका दृष्टिबाट अगाडि छ । धवलागिरि हिमाल, धवलागिरि आधार शिविर, पुनहिल, घोरेपानी, रुप्से छहरा, अन्ध गल्छी, खोप्रा लेक, गलेश्वरधाम आदि त्यहाँका मुख्य पर्यटकीय गन्तव्य हुन् ।
पर्वतका पर्यटकीय गन्तव्यमा जलजला, हम्पाल, कालान्जर पर्वत, पञ्चासे, गुत्तेश्वर गुफा, सेतीवेणीलगायत पर्छन् । अग्ला र लामा झोलुङ्गे पुलले पनि पर्वतलाई चिनाउँछ । निजी क्षेत्रको लगानीमा सञ्चालित बन्जी जम्पलगायत साहसिक पर्यटन गतिविधिले पनि पर्वतको आकर्षण बढेको छ ।
पर्यटकीय गाउँ सिरुबारी, कालभैरव मन्दिर, आलमदेवी, छायाँ क्षेत्र, शाल्मे–डाँडा जस्ता गन्तव्यस्थल स्याङ्जाको पर्यटनका आधार हुन् । राम्दीघाट, मिर्मी जस्ता पर्यटकीय आकर्षणका ठाउँ स्याङ्जामा छन् ।
व्यास क्षेत्र, तनहुँसुर दरबार, देवघाटधाम, बन्दीपुर, ढोरबराहीलगायत धार्मिक तथा पर्यटकीय स्थल तनहुँमा छन् । मौलाकालिका मन्दिर, त्रिवेणी गजेन्द्र मोक्षधाम, देवचुली जस्ता ठाउँ नवलपुरका आकर्षण हुन् ।
लमजुङमा ऐतिहासिक लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ, भुजुङ गाउँ, काउलेपानीलगायतका पर्यटकीय गन्तव्य छन् । ऐतिहासिक गोरखा दरबार, गोरखा सङ्ग्रहालय, मनकामना मन्दिर, मनाश्लु हिमाल, मनाश्लु संरक्षण क्षेत्र जस्ता गन्तव्यले गोरखाको पर्यटकीय आकर्षण बढाएका छन् ।
(रासस)
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal